पूर्वमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा

0
Shares

काठमाडौं, (नेस)
पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ। आयोगले पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सुर्खेत, बाँके र बर्दिया जिल्लाका लागि निर्माण गरिएको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन सामग्री प्रयोग गरी आयोजनालाई प्रभावित बनाएको भन्दै आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको, मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि देखिएको भन्दै आयोगले भ्रष्टाचारजन्य काममा संलग्न रहेका उनीहरूमाथि हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।

आयोगले उनीहरूविरुद्ध ८ अर्बको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ। अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई २ अर्ब १३ करोड घाटा भएको दाबी गरेको छ।

कमसल सामानको प्रयोगका कारण सिक्टा सिँचाइ आयोजना तोकिएको समयमा पूरा नभएपछि त्यस क्षेत्रका किसान थप समस्यामा परेका छन्।