मापदण्ड विपरित सञ्चालित भट्टा भत्काउन आनाकानी

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

इट्टा भट्टा उद्योगले बातावरणमा पारेको प्रभाव र मापदण्ड विपरित संचालन हुँदा समेत स्थानीय सरकारले भत्काउन दिएको अल्टिमेटम भित्र ब्यवसायीहरुले आनाकानी गरेका छन् ।

‘मापदण्ड विपरित निर्माण भएका मध्ये भैरव कुण्ड इटा भट्टाले आफै भत्कायो, भत्काएको केहि दिनमै पुन निर्माण ग¥यो’–स्थानीयले भने–‘भत्काउँदै निर्माण गर्दै गरेको किन हो ? बुझ्न सकिएको छैन ।’ नगरपालिकाले तत्काल भत्काउन र भत्काएको भट्टालाई पुनर्निर्माण नगर्न निर्देशन दिदै पत्र थमाएको छ ।

पैसाले सबै खरिद गर्न सकिन्छ भन्ने मनसाय लिएर भट्टाका ब्यवसायी केदार आचार्यले नगरपालिकाको निर्णय र निर्देशनलाई लत्याउँदै भत्काएको भट्टालाई पुनर्निमाण गरेका हुन् । भैरव कुण्ड भट्टामा आचार्यका अलावा इटा ब्यवसायी संघका जिल्ला सचिव जगत शाह समेत साझेदार छन् ।

नमोबुद्ध नगरपालिकामा निर्माण भएका भट्टाहरु हटाउन तत्कालिन नेकपा एमालेले घोषणा पत्रमा प्रतिवद्धता ब्यक्त गरेको थियो । उक्त पार्टीबाट वडा अध्यक्ष ६ जना, प्रमुख र उपप्रमुख सहित कार्यपालिका बैठकमा बहुमत छ । पार्टी एकिकरण हुँदा समेत कार्यपालिका बैठकमा भट्टा हटाउने विषयमा एक मत छ । बोर्ड बैठक, नगर सभाबाट समेत भट्टा भत्काउन भएको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

नेकपाका नेताहरुले जनताको स्वास्थ्यमा असर पार्ने भट्टा कुनै पनि हालतमा बस्तिको बीचमा हुनु नहुने निश्कर्ष निकालेको छ । सांसदहरु गंगाबहादुर दोङ्ग, चन्द्र लामा सहितका नेताहरुको उपस्थितीमा भएको बैठकमा समेत तत्कालिन इन्चार्ज राजन भुर्तेल, संयोजक टिपी शर्मा, उप संयोजक कृष्ण खनाल, जिल्ला कमिटी सदस्यहरु, नेकपाका सबै नेताहरु भट्टा राख्न नहुने पक्षमा एकमत छन् ।

वडा अध्यक्ष मार्फत ब्यवसायीहरुले नगरपालिकाको निर्णय कमजोर बनाउन गरेको अर्नगल प्रचार प्रति जनप्रतिनिधिहरु विभाजित हुन लागेको भन्दै नगरपालिकाले खवरदारी गरिरहेको छ । ब्यवसायीहरुले आलटाल गरिरहे प्रशासनको सहयोगमा भट्टामा डोजर चलाउने निर्णय गरिसकेको नगरपालिकाले जानकारी दिएको छ ।

भकुण्डेमा रहेका भट्टाहरुमा नेपाली कांग्रेसका पुर्व सांसद चन्द्र महर्जजन, नमोबुद्ध नगर समितिका सभापति कुन्साङ्ग लामा, नेता इन्द्र दाहाल, वडा सदस्य रामकुमार मैनाली, कांग्रेसकै कविराज श्रेष्ठ लगायतको लगानी रहेको छ भने नेकपाका जगत शाह लगायतको लगानी रहेको बताईएको छ ।

केहि जनप्रतिनिधिको खेत भट्टा भित्रै पर्ने भएकाले जग्गा खाली गर्न निर्देशन दिए पनि एउटा कित्ता मात्रै छाड्ने सम्भावना नरहेको बताईएको छ । वडा अध्यक्षहरु मार्फत ब्यवसायीहरुले नगर सभामा प्रस्ताव पठाएर एक वर्ष भट्टा चलाउन पाउने वातावरण बनाउन गरेको प्रयास असफल भएको छ ।

नगरपालिकाले डोजर लगाएरै भए पनि भट्टा चलाउन रोक लगाउने निर्णय गरिसकेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

एभरेष्ट कन्सल्टेन्सिका अर्जुन भट्ट मार्फत ब्यवसायीहरुले वातावरण सम्वन्धी सबै कागजात ठिक बनाउन लगाएर बस्ति भित्रका सबै भट्टा सञ्चालन गर्ने योजना बनाएका थिए ।

भट्टा उद्योबाट निस्किएको कालो धुँवा र कणले स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको प्रमाण सहित नगरपालिकामा गत वर्ष ३३ वटा संस्थाका हजारौ ब्यक्तिहरुले ज्ञापन पत्र बुझाएका थिए ।

खोलाको पानी फोहोर भएको, पानीका मुहानहरु सुक्दै गएको, खेतियोग्य जमिन मरुभूमिमा परिणत भएको तथा मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको स्थानीयहरुको ज्ञापनपत्र उल्लेख गरिएको थियो ।