एचआईभी संक्रमणले महिलालाई दिएको पीडा

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकी पार्वती (नाम परिवर्तन) लाई एचआईभी संक्रमण भएको ७ बर्ष भयो । तिन सन्तानकी आमा पार्वती परिवार पाल्नकै लागि सदरमुकाम सिलगढीमा दैनिक ज्यालादारीमा जोखिमपुर्ण काम गर्दैछिन् ।
डोटीकै पूर्वीचौकी गाउँपालिकाकी मन्सरी (नाम परिवर्तन) को अवस्था पनि उस्तै छ । श्रीमानले भारतमा गएर कमानु हुन्थ्यो, घर परिवार राम्रै चलेको थियो ।

एचआईभी संक्रमणका कारण श्रीमानको त ज्यान नै गयो तर मन्सरीलाई भने एचआईभी सराएर गए । श्रीमानको मृत्युपछि चार छोरा छोरीको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आयो । आफ्ना छोरा छोरी कसरी पाल्ने भन्ने चिन्ता मन्सरी दिनहुँ चिन्तामा परिरहन्छिन् ।

मन्सरी र पार्वती मात्रै होईनन् जिल्लामा यस्ता कतिपए एचआईभी संक्रमित एकल महिलाहरुलाई आफु र बाल बच्चा कसरी हुर्काउने भन्ने चिन्ताले पिरोली रहेको हुन्छ । डोटी मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशका एचआईभी संक्रमित महिलाहरुलाई भने साँझ विहान हातमुख जोड्न धौ धौ परेको हुन्छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश पुरुषहरु कामका लागि भारतका बिभिन्न शहरहरुमा जाने गर्दछन् । भारतमा काम गरेर घर परिवार पाल्ने धेरै छन् । बिभिन्न संघ संस्थाहरुले गरेको अध्ययन अनुसार यस क्षेत्रका संक्रमितहरु मध्ये अधिकांश भारतवाट काम गरेर फर्कनेहरु छन् ।

एचआईभी संक्रमित भई घरमा कमाउने श्रीमानको मृत्यु भएपछि एकल हुन पुगेका महिलाहरु एचआईभीको संक्रमणको समस्याका साथै घर परिवारको समेत जिम्मेवारी सम्हाल्नु परेपछि आर्थिक समस्याका कारण थप पिडामा पर्ने गरेको पुर्बि चौकीका स्थानिय तथा सञ्चारकर्मी चक्रबहादुर कठायतले बताउनु भयो । उहाँले भन्नु भयो ‘कमाउन गएका श्रीमानले भारत बाट एचआईभी बोकेर आउछन र श्रीमतीलाई सार्छन, उहाँले भन्नु भयो ‘बिचरा श्रीमती लाई बाचुन्जेलको पिडा हुन्छ ।’

पुरुषहरु सकेसम्म एचआईभीको जाँच गराउन मान्दैनन् । अन्तिम अवस्थामा जचाउन आउने गरेका कारण मृत्यु हुने र परिवारमा समेत एचआईभी संक्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मीहरु वताउछन् । कामका लागि भारत गएका श्रीमानले आफुलाई पनि एचाईभीको संक्रमणमा पारेपछि एचआईभी संक्रमित भन्दै महिलाहरुले परिवार र समाजको समेत भेदभावको सामना गर्नु परिरहेको छ ।

एचआईभी संक्रमित भई भारतवाट घर फर्केकाहरु समेत उपचार पछि पुनः काम गर्न भारत जाने क्रम समेत बढेको छ । केहि एचआईभी संक्रमित एकल महिलाहरु बिभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमवाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार ७ सय २४ जना एचआईभी संक्रमित रहेको सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनु भयो । उहाँका अनुसार ३ हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् ।

‘आर्थिक बर्ष २०७४/०७५ सम्मको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ६ सय ७६ जनाले एचआईभी÷ एड्सका कारण ज्यान गुमाएका छन’ जनस्वास्थ्य अधिकृत मलासीले भन्नु भयो ‘गत आर्थिक बर्षमा मात्रै दुई सय ४७ जना नयाँ संक्रमित देखिएका छन् ।’

सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाईएको छ ।
जिल्ला अस्पताल डोटीको एआरटी सेन्टरले दिएको जानकारी अनुसार जिल्लामा एचआईभी संक्रमितहरुको संख्या ९ सय ५८ रहेको छ । उक्त संख्यामा महिलाहरुको संख्या ५ सय ४८ रहेको छ । यस आधारमा संक्रमितहरुमा महिलाहरुको संख्या बढी रहेको देखिन्छ ।

समाजको अपहेलितका कारण यहाँका एचआई संक्रमित महिलाहरु खासै खुलेर भन्न नसक्ने तथा उपचार गराउन नआउने गरेका कारण जिल्लामा एचआईभी संक्रमण बढी रहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।