दुवै मृगौला फेल भएका गोरख सहयोगको याचना गर्दै

0
Shares

प्रकाश पन्त, बीरेन्द्रनगर ।
दुवै मृगौला फेल भएर काठमाडौंमा उपचार गराईरहेका जाजरकोटका गोरखबहादुर शाहीले सहयोगको याचना गरेका छन् । जुनीचाँदे गाउँपालिका–२ जाजरकोटका गोरख अहिले काठमाडौंको बयोधा अस्पतालमा उपचार गराईरहेका छन् ।

२ वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका गोरखलाई मृगौलासम्बन्धी समस्या देखिएपछि उनले काम गरिरहेको कम्पनीले उनलाई फिर्ता गरेको थियो । कतारस्थित ‘जीटजी’ कम्पनीमा कार्यरत उनी दुई हप्ताअघि नेपाल फर्किएका हुन् ।

कतारमा रहँदा उपचारमा एक लाख रुपैयाँ खर्च भएको उनले बताए । काठमाडौं आएको तीन हप्तामा उपचारसहित डेढ लाख रुपैयाँ खर्च भैसकेको गोरखले बताए । आफू विदेश जाँदा लिएको ऋण समेत तिर्न नसकिएको भन्दै उनले उपचारका लागि लाग्ने खर्च जुटाउने उपाय नै नभएको दुखेसो पोखे ।

उनका अनुसार मृगौला प्रत्यारोपण गर्न करिब १५ लाख लाग्ने अस्पतालले बताएको छ । ‘अहिलेसम्म औषधिको भरमा छु, अस्पतालले मृगौला हाल्न १५ लाख जति लाग्छ भनेको छ’ उनले भने, ‘रकम कहाँबाट जुटाउनु ? कतैबाट पैँसा सहयोग भैहालेपछि मृगौला कहाँ पाउने, कुनै उपाय छैन ।’

यदि गोरखले मृगौला दिने व्यक्ति पाएको खण्डमा सरकारले प्रत्यारोपणमा लाग्ने खर्चवापतको ५ लाख रुपैयाँ व्यहोर्ने व्यवस्था छ ।

गोरख कतार गएको दुई वर्ष नपुग्दै बिरामी भएका थिए । कतारको एक अस्पतालमा जाँच गराउँदा दुवै मृगौला फेल भएको रिपोर्ट आएको उनले बताए । उनले सहयोगको समेत याचना गरेका छन् ।