दक्ष जनशक्तिको अभावमा ५५ लाखको ब्रुमर सन्चालनमा आउन सकेन

0
Shares

सरोज यादव, विराटनगर ।
दक्ष जनशक्तिको अभावमा विराटनगर महानगरपालिकाले धुलो सफा गर्ने गाडी ब्रुमर गएको दुइमहिनादेखि प्रयोगमा ल्याउन सकेको छैन । गएको असोज महिनामै सडकको धुलो सफा गर्नका लागि महानगरपालिकाले स्वीपर भ्याक्युम टाइप पावर ९५ एचपी नामक भारतीय टाटा कम्पनीको ब्रुमर गाडी खरिद गरेको थियो ।

तर, सो सवारी चलाउन हालसम्म दक्ष जनशक्ति नभेटिदा“ बु्रमर महानगरपालिकाको कम्पाउण्डमै सिमीत रहेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले धुलो सफा गर्नका लागि महानगरले ल्याएको गाडी दक्ष चालककै अभावमा सञ्चालनमा ल्याउन नसकेको स्पस्ट पारे। काठमाडौंमा रहेका प्रमुख पराजुलीले भने, “दक्ष चालकका लागि आवेदन माग गरेकाछौ। केहीको आवेदन पनि आएको छ। छिटै सञ्चालनमा ल्याउनेछौं।” महानगरले सडक निर्माण तथा विस्तारका क्रममा अत्याधिक धुलो भएको जनगुनासो संगै गतवर्ष नै बु्रमरको खरिदका लागि बोल प्रक्रिया अघि बढाएको थियो।
जसमा इटेण्डरमार्फत म्याप इन्टरप्राइजेज प्रा.लिले गाडी ढिलोगरि असोजमा महानगरलाई उपलब्ध गराएको हो । इन्टरप्राइजेजले निर्धारित समयमा ब्रुमर उपलब्ध गराउन नसक्दा ४० हजार रुपैयाँ जरिवाना समेत तिरेको महानगरको जिन्सी शाखाले जनाएको छ।

महानगरले धुलो सफा गर्ने यस बु्रमर गाडी म्याप इन्टरप्राइजेजसंग ५५ लाख रुपैयामा खरिद गरेको हो। महानगरले गत असोजमै ल्याएको गाडी पहिलोपटक प्रयोग गर्ने क्रममा सामान्य प्राविधीक खराबीसंगै थन्किएको थियो। यद्धपि हाल गाडी प्रयोगका लागी तयारी अवस्थामा रहेको तर, दक्ष चालकको अभावमा काममा ल्याउन नसकेको महानगरले जनाएको छ।

यस गाडीको लागि चालकसंगै अन्य दुइजना सफाइ कर्मचारी आवश्यक रहने बताइएको छ।

यसलाई प्रयोगमा ल्याउन सके धुलोको समस्या केहीहदसम्म नियन्त्रणमा ल्याउन सकिने बुझाइ सर्वसाधारणमा रहेको छ।