सौर्य एयरलाइन्सलाई उडानमा रोक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
बक्यौता रकम भुक्तानी नगरेपछि निजी क्षेत्रको हवाई सेवाप्रदायक सौर्य एयरलाइन्सको सम्पँर्ण उडान बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता नतिरेपछि विमानस्थल कार्यालयले बिहीबारबाट सौर्य एयरलाइन्सको उडान अवतरणमा रोक लगाएको हो ।

विमानस्थल कार्यालयले सौर्य एयरलाइन्सको ३ करोड रुपियाँभन्दा बढी बक्यौता नतिरेपछि उडान बन्द गरिएको जनाएको छ ।

एयरलाइन्स कम्पनीलाई विमानस्थल कार्यालयले पटक–पटक बक्यौता रकमा तिर्नका लागि समय सिमा दिएको भए पनि भुक्तानी नगरेपछि नियमित उडान बन्द गरिएको कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।
‘एयरलाइन्सले सोमबारसम्म बक्यौता रकम भुक्तानी गर्ने मौखिक जानकारी दिएको भए पनि पँरा बक्यौता भुक्तनी नगरेसम्म कुनै पनि उडान हुन नदिने महाप्रबन्धक क्षेत्रीले बताउनुभयो।

एयरलाइन्सको पुरानो व्यवस्थापनदेखि नै बक्यौता रहेको थियो । नयाँ व्यवस्थापन आएसँगै बक्यौता भुक्तानी हुने आश्वासन पाएका थियौं । तर, नयाँ व्यवस्थापनले थोरै मात्र भुक्तानी गरेको कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयले १० महिनादेखि भुक्तानीको ताकेता गर्दा हालसम्म १ करोड ७० लाख रुपियाँ भुक्तान गरिसकेको छ । अब ३ करोड रुपियाँभन्दा बढी रकम भुक्तान गर्न बाँकी रहेको छ । एयरलाइन्समा आर्थिक संकट बढ्दै गएपछि साउनमा एयरलाइन्स बिक्री भएको थियो ।

सौर्यसँग सीआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन् । एउटा जहाजले नियमित उडान गरिरहेको छ, अर्को विमानमा प्राविधिक समस्या आएकाले मर्मतको क्रममा रहेको छ ।