सामाजिक कार्यमा सक्रिय बन्दै विद्यार्थी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं वसुन्धरास्थित ओरियन्ट कलेजमा सामाजिक कार्यमा स्नातक गर्दै गरेका विद्यार्थी समाज विकास र सुधारका कार्यमा तीव्र रुपमा लाग्ने गरेका छन् । कलेजअन्तर्गतको स्टुडेन्ट काउन्सिलको आयोजनामा विद्यार्थीले गत शुक्रबार र शनिबार दुईवटा कार्यक्रमको आयोजना गर्दै सामाजिक कार्यमा सक्रियता देखाएका हुन् ।

कलेजअन्तर्गत सामाजिक कार्य अध्यायन गर्दै गरेका विद्यार्थीले गत हप्ताको शुक्रबार बिहान ८ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । ओरियन्ट कलेज क्लब र लायन्स क्लब अफ काठमाडौंको मुख्य आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए ।

कुनै बेला अस्पतालमा रगतको कमीले गर्दा अकालमा ज्यान गुमाउन परेका घटना आगामी दिनमा नदोहोरियोस् भन्ने मुख्य उद्देश्यका साथ कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको स्नातक तह संयोजक साधना थापाले बताउनुभयो । कार्यक्रममा ओरियन्ट कलेजमा अध्यनरत विद्यार्थी र शिक्षकको उपस्थिति रहेको थियो ।

यसै गरी गत शनिबार ३१आंै विश्व एड्स दिवसको अवसर पारेर कलेजका विद्यार्थीले जनचेतनामूलक कार्यक्रम पनि सम्पन्न गरेका छन् । ओरियन्ट कलेज क्लब र शान्ति फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एचआईभी एड्सका बारेमा जानकारी दिइएको थियो ।

एचआइभी एड्ससम्बन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको बारेमा देशैभरि जानकारी दिने, बहस गर्ने र वकालत गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । यसका साथै कार्यक्रममा नृत्य प्रदर्शन र सडक नाटकसमेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा स्थानीय व्यक्ति, पैदल हिँड्दै गरेका यात्रु, कलेजका शिक्षक तथा शान्ति फाउन्डेसनका कर्मचारी र प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।