अझै पाएन नास्टले कार्यकारी प्रमुख, गुपचुपमै मनाइयो वार्षिकोत्सव

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताको ‘बार्गेनिङ’ का कारण लामो समयसम्म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान कार्यकारी प्रमुखविहीन बनेको छ ।
उपकुलपति पद रिक्त भएको ३ महिना पूरा भइसक्यो तर नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । नेकपा नेताले आफू निकटकालाई नै उपकुलपति बनाउन अडान जारी राख्दा सो पदको नियुक्ति अझै अन्योल बनेको नास्टका अधिकारी बताउँछन् ।

‘राजनीतिक भागबन्डाकै आधारमा भीसी नियुक्त गर्ने पुरानै प्रचलन हो, तर यसपटक किन ढिलासुस्ती भइरहेको छ, समग्र नास्ट परिवार अन्योलमा छ’ –सो निकायका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल गत भदौ १४ मा सकिएको थियो । कार्यकारी प्रमुख नियुक्त हुन नसक्दा नास्टक प्राज्ञ सभाको बैठक बस्न सकेको छैन भने अन्य वार्षिक कार्यक्रम र बजेटसमेत पारित हुन सकेको छैन ।
स्रोतका अनुसार उपकुलपतिको दौडमा नास्टका प्राज्ञद्वय डा. दिनेश भुजु, डा. ऋषि शाह, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. सुनीलबाबु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका प्राध्यापकद्वय रमेश मास्के र जनार्दन लामिछाने हुनुहुन्छ ।

त्यसैगरी लामिछाने विगतमै तत्कालीन माओवादी निकट भनेर चर्चामा हुनुहुन्थ्यो । शिक्षामन्त्रीको संयोजकत्वमा गठन हुने ३ सदस्यीय समितिले गरेको सिफारिसका आधारमा नास्टका कुलपति एवं प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । विगतमा समितिले सिफारिस गरेको करिब एक सातामा नास्टले नयाँ उपकुलपति पाएको उदाहरण छन् ।

तर यसपटक अहिलेसम्म समिति नै गठन नभएकाले यो प्रक्रिया अझै लम्बिने निश्चित भएको जानकार बताउँछन् । उपकुलपति नियुक्त नहुँदा बिहीबार नास्टले आफ्नो स्थापनाको ३६औं वार्षिकोत्सव सामान्य रुपमा मनाएको छ ।
विगतका वार्षिकोत्सव प्रधानमन्त्री, विभागीय मन्त्री, पूर्वमन्त्री, अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमाझ मनाउने गरिएको थियो ।

विगतमा विज्ञानका खोज अनुसन्धानमा जुटेका व्यक्ति, संस्था र नास्ट कर्मचारीलाई पुरस्कृत र सम्मान गर्ने परम्परा भए पनि यसपटक गुपचुप ढंगमा वार्षिकोत्सव सम्पन्न हुँदा ज्यादै खल्लो महसुस भएको नास्ट अधिकारीले बताए ।
‘नास्टको इतिहासमै यसपटक त्यस्तो अनौपचारिक जमघट भएन, वार्षिकोत्सवको औपचाारिक सूचना पनि जारी गरिएको थिएन, ज्यादै सुनसान वातावरणमा कार्यक्रम सम्पन्न भयो’ –एक अधिकारीले भने ।