जहाँ भत्ताका लागि जन्माइन्छ, धेरै सन्तान

0
Shares

नेपाल समाचारपत्र, बाँके
‘सर, मेरो यो छोराको नाम राखिदिनु न ।’ काखमा च्यापेको छोरालाई देखाउदै ननकैया कुचबधियाले भन्नुभयो, तिहार अघि जन्मेको हो । राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौ ।’

ननकैयालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । भन्नुहुन्छ, तिहार आउन ५÷७ दिन बाँकी थियो, यो जन्मिदा । ननकैयाको काखमा रहेको बालक उनको छैटौ सन्तान हो । रोशन, आशा, गुडिया, अन्जु र ज्योती उनका छोराछोरी हुन् । ननकैयालाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ ।

‘तपाई कति वर्ष हुनुभयो ?’ ननकैयालाई त्यो पनि थाहा छैन । हेर्दा ३० वर्ष आसपासकी ननकैयाले ६ सन्तान जन्माइसक्नुभएको छ । ‘अर्को पनि बच्चा जन्माउने होला नि ?’ लाज मान्दै ननकैयाले भन्नुभयो, अब जन्माउदिन, पुग्यो । ६ सन्तान त यहाँ सबैका छन् ।’

जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाती कुचबधियाको ४६ घर छन् । सरकारले यो जातीलाई प्रति टाउको मासिक दुई हजार रुपैया भत्ता दिने गर्दछ । भत्ताकै लागि यी जातीले सन्तान बढाइरहेका छन् ।
नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा ६÷७ सन्तान त सामान्य नै मानिन्छ । ‘धेरै सन्तान किन जन्माउनु हुन्छ ?’ ६ सन्तानकी आमा फूलमाता भन्नुभयो, ‘धान रोपेपछि त फल्छ नि ।’

लैंगी कुचबधियाका सात सन्तान छन् । सन्तान धेरै भएकाले उनी पैसावालामा गनिनुहुन्छ । किनकी, उहाँले धेरै भत्ता बुझ्नुहुन्छ । लैंगीका ५ छोरी र दुई छोरा छन् । गीता कुचबधियाका चार छोरा र दुई छोरी छन् । सोना, मिना, नन्दवाका पाँच÷पाँच सन्तान छन् ।

इन्द्रपुरमा रहेका कुचबधिया प्रति ऐलानी जग्गामा बसेका छन् । सिलौटा, जाता, सनपाटको डोरी बेचेर यी जातीले गुजारा चलाउने गर्दथे । बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधियाले बताउनुभयो । ‘अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जिविको चलेको छ, पटवारीले भन्नुभयो ।

बाँकेको इन्द्रपुर, नेपालगञ्जको फूल्टेक्रा र मनिकापुरमा कुचबधियाको बसोबास रहेको छ । सरकारले लोपोन्मुख जातीमा राखेर भत्ता दिने व्यवस्था गरेपछि यी जाती सन्तान बृद्धिमै लागेका छन् । ‘अझै बच्चा जन्माउने विचार छ कि छैन ?’ ६ सन्तानकी आमा गीता कुचबधियाले भन्नुभयो, अब जन्माउदिन । पाँच वर्षे औषधी नरप्लान्ट राखेको छु ।’