नेकपाको एकता स्थानीय तहसम्म पुग्दै

0
Shares

नरेन्द्र केसी, घोराही, दाङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताले केन्द्रमा गति लिन नसकेको बेला स्थानीयस्तरमा भने गति लिन थालेको छ ।

जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका स्थानीय तहमा पार्टी एकताका लागि सहमति जुटेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका दुइ दुइ जना नेतासम्मलित संयुक्त कार्यदलले सहमति जुटाएको हो ।

जसअनुसार जिल्लाका दश वटै स्थानीय तहको इञ्चार्जमा बराबरी प्रतिनिधित्व हुने भएको छ । घोराही उपमहानगर र लमही नगरसहित पाँच वटा स्थानीय तहको इञ्चार्ज पूर्वमाओवादी केन्द्रले पाएको छ भने तुलसीपुर उपमहानगरसहित पाँच वटा स्थानीय तहको इञ्चार्ज पूर्वएमालेले पाएको छ ।

त्यस्तै पालिका सहइञ्चार्ज माओवादी केन्द्रले छ र एमालेले चार वटा पाएका छन् । पालिका कमिटी अध्यक्ष भने पूर्वएमालेले छ र पूर्वमाओवादी केन्द्रले चार वटा पाएका छन् । जसअनुसार घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, शान्तिनगर गाउँपािलका, बबइ गाउँपालिका र दंगीशरण गाउँपालिकामा पूर्वएमालेका नेता अध्यक्ष बन्नेछन् भने तुलसीपुर उपमहानगरपालिका, राजपुर गाउँपािलका, राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका नेता अध्यक्ष बन्नेछन् ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रमुखमा तीन तीन जना रहने गरी सहमति गरिएको कार्यदल सदस्य तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रमुखमा जहाँ जसले जितेको छ, उसले नै नेतृत्व गर्ने सहमति भएको छ । जसअनुसार क्षेत्र नम्बर १ र ३ मा पूर्वएमाले र क्षेत्र नम्बर २ मा पूर्वमाओवादीका नेता निर्वाचन क्षेत्र प्रमुख बन्नेछन् ।

संयुक्त कार्यदलमा पूर्वएमालेको तर्फबाट टीकाराम खड्का र शिवकुमार आचार्य तथा पूर्वमाओवादी केन्द्रको तर्फबाट तुलसीराम पुन ‘सुवास’ र रामजी चौधरी ‘मिलन’ रहनुभएको छ । एकता बाँकी काममा आगामी बैठकमा छलफल गर्ने सहमति भएको कार्यदलले जनाएको छ । जनवर्गीय संगठनको सवालमा केन्द्र र प्रदेशले टुंग्याएपछि मात्रै छलफल शुरु गरिने कार्यदल सदस्य पुनले जानकारी दिनुभयो ।