राजदूत शेर्पामाथि मानव तस्करीको आरोप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हँुदै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि छानविन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वुधवार प्रेस विज्ञप्ती जारी गर्दै राजदुत नै मानव तस्करीमा लागेको जस्तो गम्भिर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भिर विषय भएको जनाउनु भएको छ ।
‘अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाका सम्बन्धमा केहि समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई हामीले गम्भीर रुपमा लिएका छौँ’ प्रवक्ता शर्माले भन्नुभएको छ– निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले झनै गम्भीर र दुःखद रुपमा लिएका छौं ।

छानविन गर्न प्रमुख प्रतिपक्ष दलको आग्रह

राजदुत शेर्पामाथि आफ्नै सवारी चालकले मानव तस्करीमा संलग्न रहेको आरोप लगाएका थिए । नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत ओङ्छु शेर्पाले समेत राजदुत शेर्पाले मोटो रकम असुलेर त्यहाँ लगेको बताएका थिए । चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका थिए । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ । त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्वसर्त अनुसार आफूले मासिक एक हजार डलर शेर्पा दम्पत्तिलाई बुझाउने गरेको चालकको भनाई थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यो आरोप प्रति गम्भिर चासो राखि कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो भन्दै राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण गराएको छ ।

यस विषयमा तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।