नदी किनारको बजार मालढुंगाबासी खानेपानीको समस्या

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
कुस्मा नगरपालिका वडा नं १ मालढुंगाबासीले खानेपानीको चरम अभाब भोग्दै आएका छन ।

बस्तीमा ल्याइएको पानी थोरै भएकाले बजारबासीलाई अपुग भएको हो । कालीगण्डकी नदी किनारको बस्ती भएर पनि पानीकै लागि दिनहुँ झगडा समेत हुँदै आएको छ ।

पर्वत र बागलुङको सिमानाको यो बजारमा व्यवसायका लागि सानाठूला गरी करिब तीन दर्जन घरटहरा छन् । नजिकै करिब डेढ सय परिवारको माझी बस्ती छ।

बस्तीका लागि २० एमएमको पाइपमा पानी ल्याइएको छ। त्यतिले पुग्दैन। त्यसैले पानीका लागि झगडा परिरहन्छ। बस्तीदेखि करिब चार सय मिटरको दूरीमा पानीको मुहान छ। वितरण व्यवस्थित नहुँदा यहाँ खानेपानीका लागि झगडा हुने गरेको हो।

‘बिहानदेखि साँझसम्म कुनै बेला पानी सजिलै थाप्नै पाइँदैन’ स्थानीय सुमित्रा थापामगरले भनिन, ‘यत्रो बजारलाई एउटा धारा छ। राति २ बजे उठेर भाँडा नभरे घाँटी भिजाउने पानी पनि पाइँदैन।’ चिसो मौसममा पानी थाप्नका लागि राति २ बजे उठदा खुट्टा सुन्निने र पेट फुल्नेलगायतका समस्या हुन थालेको उनले गुनासो गरिन्।

मालढुंगा भएर दैनिक हजारवटाभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । धौलागिरिका सबैजसो जिल्ला सदरमुकाम पुग्ने सवारीसाधन यहाँ रोकेर चियानास्ता खाने ठाउँ पनि हो। बिहानदेखि बेलुकासम्म सयौं यात्रु यहाँ विश्राम लिन्छन्। सार्वजनिक धारा एउटा मात्रै छ। त्यसैले पानी थाप्नै हानथाप हुने गरेको छ ।

ठूलो साइजको पाइपमा पानी ल्याएर वितरण गर्न र धारा थप गर्न स्थानीयले ६ वर्षअघि गाविसलाई आग्रह गरेका थिए। त्यसका लागि कृष्ण सुवेदी अध्यक्ष रहेको एक उपभोक्ता समिति पनि गठन भयो। तर, उपभोक्ताको गुनासो गाविसले सुनेन। त्यसयता दुईवटा निर्वाचन भए। तत्कालीन पाङ गाविस कुश्मा नगरपालिकामा गाभियो। नगरपालिकाभित्र परेको पनि ४ वर्ष पुगिसक्यो।

तर, नगरपालिकाले पनि स्थानीयका माग सुनेन। ‘नगरपालिका बनिसकेपछि पनि हामीले धेरैपटक समस्या सुनायौ’ उपभोक्ता समिति सचिव होमनाथ सुवेदीले भने, ‘हामीलाई पाइप मात्रै देऊ भन्दा पनि दिन मानेनन्।’

नजिकैको भैंसेओढारमा रहेको मूलमा व्यवस्थित ट्यांकी बनाउन सके मालढुंगा बजार र नजिकैको माझी बस्तीलाई समेत पानीको सुविस्ता हुने उनले बताए। ‘हामीलाई पुगेर पनि माझी बस्तीलाई पुग्ने पानी त्यो मुलबाट ल्याउन सकिन्छ,’ स्थानीय केबी गुरुङले भने, ‘हाम्रो कुरा कसैले सुन्दैन’ ।

बस्तीमा घरघरै धारा र एउटा सार्वजनिक थप्न नगरपालिकासँग माग गरिरहेको उनले बताए। ‘मुहानबाट ४० एमएमको पाइपमा पानी ल्याउन सकियो भने पर्याप्त हुन्छ’ उनले भने।