काठमाडौं, (नेस)
अफगानिस्तानको राजधानी काबुलमा विद्रोहीको आक्रमण परी त्यहाँ कार्यरत ११ नेपाली घाइते भएका छन्। हालै भएको भयानक आक्रमणमा परी घाइते भएका १६ मध्ये ११ नेपाली रहेको भारतस्थित नेपाली नियोगले जनाएको छ। उक्त आक्रमणमा परी ५ बेलायती नागरिक घाइते भएको बीबीसीले जनाएको छ।
बेलायती सुरक्षा कम्पनी जी फोरमा कार्यरत नेपालीलाई लक्षित गरी आक्रमण भएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। घाइते भएका नेपाली तथा बेलायतीको परिचय भने अझै खुलाइएको छैन।
तालिवानी सशस्त्र विद्रोही समूहले जी फोरको कार्यालयमा प्रवेश गरेर जथाभावी गोली प्रहार गरेका थिए। नकाब लगाएर सो कार्यालयमा प्रवेश गरेका आक्रमणकारीले आक्रमण गर्न थालेपछि दोहोरो भिडन्त भएको थियो।
अफगानिस्तानमा कार्यरत विभिन्न नियोगलाई सुरक्षा प्रदान गर्दै आएको सो कम्पनीलाई लक्षित गरी आक्रमणकारीले आक्रमण गर्नथालेपछि झन्डै आधा घण्टा दोहोरो भिडन्त भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। भिडन्तका बेला विभिन्न देशका झन्डै ३ सयभन्दा बढी सुरक्षा गार्ड त्यहाँ रहेको बताइएको छ।
जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो, जसले संसारभर आफ्नो सञ्जाल फैलाएको छ। नेपाल सरकारले अफगानिस्तानका लागि रोजगारीमा प्रतिबन्ध लगाए पनि अवैध बाटो हुँदै हजारौं नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन्। यसअघि तालिवानी लडाकूको आक्रमणमा परी अफगानिस्तामा १२ नेपालीको मृत्यु भएको थियो।











प्रतिक्रिया