मधुसूदन रायमाझी, काठमाडौं,
पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिस्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन। सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थागित भएको छ। शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन–२०१८ का लागि नेकपाका नेताहरू व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको हो।
बुधबार बसेको सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो। निर्णय भए पनि सचिवालय बैठकमा प्रस्तुत भएका एजेन्डामाथि अझै छलफल हुन सकेको छैन। सचिवालय बैठकले पास गरेको प्रस्ताव प्रदेश कमिटीले अनुमोदन गर्नुपर्ने हुन्छ। तर आईएनजीओको कार्यक्रममा शीर्ष नेताहरू व्यस्त भएपछि ७ महिनापछि प्रदेश कमिटीले पूर्णता पाए पनि निर्णय सार्वजनिक हुन सकेको छैन। सचिवालयको बैठकलगत्तै प्रदेश कमिटीको सदस्यको नामावली सार्वजनिक गर्ने बताइएको थियो। तर बैठक नै स्थगित भएपछि प्रदेश कमिटीमा पर्ने सदस्यहरूको नाम अझै सार्वजनिक हुन सकेको छैन। सचिवालयका नेताहरू अन्य कार्यक्रममा दौडधूपमा लागेपछि बैठक स्थगित भएको छ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सचिवालयको बैठक त जुनसकै बेला पनि बस्न सक्ने बताउँदै तर २÷३ दिनयता बैठक बस्ने सम्भावना नरहेको बताउनुभयो। ‘सचिवालयको बैठकमा समावेश भएको एजेन्डामाथिको छलफल नै सकिएको छैन, सचिवालयको बैठकले स्थायी समितिको बैठक बोलाउने हो।’ –उहाँले भन्नुभयो।
एसिया प्रशान्त शिखर सम्मेलनमा छ राष्ट्र÷सरकार प्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका १ हजार ५ सय विदेशी विशेष अतिथिका रूपमा सहभागिता जनाउने आयोजकले बताएको छ।
संघीय संसद् नेपालको सहयोगमा इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेसन (यूपीएफ), इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपीपी) लगायत संस्थाको आयोजनामा सम्मेलन हुन लागेको हो। विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन कार्य नेपाल सरकारले गरेको छ। सम्मेलन आयोजना गर्नका लागि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ।
पार्टी एकतामा अध्यक्ष ओलीको हेलचेक्र्याइँ ः खनाल
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रियामा अध्यक्षको हेलचेक्र्याइँ नै प्रमुख कारण भएको बताउनुभएको छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘३ महिनामा टुंगो लगाउने भनिएको पार्टी एकताको काम ७ महिना बितिसक्दा समेत हुन सकेको छैन, अध्यक्षको बेवास्ताले पार्टी एकता प्रक्रिया लम्बियो।’
पार्टीलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा सचिवालयको बैठकमा छलफल भइरहेको बताउँदै उहाँले सरकारको काम प्रभावकारी नभएकोप्रति आफूहरूले ध्यानाकषर्ण गराएको बताउनुभयो। ‘सचिवालयको बैठक एकछिन बस्छ, धेरै विषयमा छलफल नै हुँदैन’, नेता खनालले भन्नुभयो– ‘सचिवालयको बैठकमा अध्यक्षको ध्यानाकर्षण गराएका छौं, परिणाम आउने गरी सुनुवाइ भएको छैन।’











प्रतिक्रिया