काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार सचिवस्तरको मंसिर १२ गतेको निर्णयअनुसार एक तह पदोन्नति भएका प्राविधिकतर्फका ६ जना प्रहरी अधिकृतहरुलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले संचारतर्फका प्राविधिक प्रहरी उपरीक्षक १ तथा प्राविधिक प्रहरी नायव उपरीक्षक ४ र आवास तथा भौतिक ईन्जिनियरिङतर्फका प्राविधिक प्रहरी नायव उपरीक्षक १ जनालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै प्रहरी संगठनमा प्राविधिकतर्फको जिम्मेवारी झन बढी महत्वपूर्ण भएकोले अझ बढी जिम्मेवार र इमानदार भई निष्ठापूर्वक कार्य सम्पादन गर्न सदैव सचेत हुनुपर्ने बताउनुभयो । दर्जा अनुसार जिम्मेवारी बढ्दै जाने भएकोले मातहत कर्मचारीको मनोवल उकास्न आफ्नो जिम्मेवारीलाई अझै बढी प्रभावकारी बनाएर संगठनको नीतिसँगै समाहित हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
संगठनको सोच र नीतिगत रुपमा तय गरेका विभिन्न योजनालाई अक्षरस अगाडि बढाउन विगतमा भन्दा अलि बढी अध्ययन ज्ञान र कौशल बढाउँदै खट्नुपर्ने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । सेवामुखी र गुणस्तरीय सेवा प्रदान गर्न सकेमा प्रतिफल पनि राम्रो पाइने तथ्य सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रहरीले हालै जापानबाट पाएको उत्कृष्ट पुरस्कारबाट पुष्टि भएको उल्लेख गर्दै उहाँले हरेक सेक्टरमा यस्तै उत्कृष्ट परिणाम आउनुपर्नेमा जोड दिनुभयो ।

संगठन राम्रो बनाउन आफ्नो क्षमता र विज्ञता प्रयोग गरी विवेक र सकारात्मक सोच राखेर अगाडि बढे भविष्य उज्ज्वल हुनुको साथै इज्जत र प्रतिष्ठासमेत बढेर जाने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले जुन ठाउँमा खटियो त्यही ठाउँमा निपूर्णताकासाथ काम गर्न निर्देशन दिनुभयो । संगठनमा केही नयाँ गतिविधि र वृत्ति विकासतर्फ नेतृत्व समयसापेक्ष अगाडि बढ्ने काम भइरहेको उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक खनालले नेपालमा हुन गइरहेको एसिया प्यासिफिक समिट २०१८ निकै महत्वपूर्ण रहेकोले यसलाई सफल बनाउन प्रहरी कर्मचारीहरूले आ(आफ्नो क्षेत्रबाट व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट योगदान दिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक ई। दिवाकर सिंहले संगठनले सुम्पिएको जिम्मेवारीलाई अझै उर्जाशील भई उच्च मनोवलकासाथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।












प्रतिक्रिया