चौधरी ग्रुपको मध्यमोदी जलबिद्युत आयोजनामा काम ठप्प

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
औधोगिक घरना चौधरी ग्रुपले पर्वतमा निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य दुई दिन देखि ठप्प भएको छ ।

आयोजनामा कार्यरत मज्दुरहरुले आन्दोलन गरेपछि बुधबार देखि निर्माण कार्य रोकिएको हो । मज्दुर आन्दोलनका कारण सुरुङ्ग, पावर हाउस, इन्टेक लगायतका संरचना निर्माण कार्य प्रभावित भएको छ ।

आयोजनाको सुरुङ्गमा बिष्फोटनका लागि माटोको लोला भर्ने काममा संलग्न मज्दुरलाई निस्कासनको बिरोध गर्दै मज्दुरले निर्माण कार्य बन्द गराएका छन । निस्कासन गरिएका ६ जना महिलालाई पुर्नबहाली गर्नुपर्ने माग मज्दुर युनियनको छ । आयोजनाले भने सुरुङ्गमा बिष्फोटनको काम सकिएको र निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निस्कासन गरिएको बताएको छ ।

आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम नभएका कारण असार देखि नै तलब निकासा नभएका कारण दशैं पछि निस्कासन गरिएपनि छलफल गरि समस्या समाधानको प्रयास भैरहेको बताए । ‘काम नभएका कारण मज्दुर निष्कासन गरिएको हो’ आयोजना प्रमुख राउतले भने ‘हामीले छलफल र संवादबाट मज्दुरलाई बैकल्पिक ढंगले ब्यबस्थापन गर्ने योजनामा छौ ।’

पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको आयोजनाको २ हजार ७ सय मिटर सुरुङ्ग मध्ये २ हजार ४ सय मिटर सुरुङ्ग निर्माण कार्य सकिएको छ । बाँकी भागमा बिष्फोटन नगरि निर्माण कार्य अघि बढेको आयोजना प्रमुख राउतले बताए । आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट. शुरु भएको थियो ।

आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर २ बेतेनीसम्म २ हजार ६ सय ९३ मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ। यहाँ उत्पादित बिद्युत चार किलोमिटर लामो प्रसारण लाईन मार्फत देउपुर –पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाईन र सबस्टेशन निर्माणको प्रकृया भने भर्खर शुरु भएको छ । आयोजनामा प्राइम बै्रकको नेतृत्वमा सात वटा बैंकले लगानी गर्ने गरेका छन ।