विद्युत भोल्टेज नपुग्दा उद्योग व्यसायी मारमा

0
Shares

धनवीर दाहाल, रुकुम ।
विद्युत भोल्टेज नपुग्दा मेसिनरी औजारहरु सञ्चालनमा समस्या भएको उद्योग व्यवसायीले गुनासो गरेका छन् ।

सदरमुकाम मुसिकोट खलंगामा जंगी आइरन उद्योग सञ्चालन गर्नुभएका जंगबहादुर गिरीले विद्युत भोल्टेज नपुग्दा खर्च मात्र बढेको गुनासो गर्नुभयो । कामदारहरु काम विहीन बन्न पुगेको, उनीहरुको तलब मात्र दिनुपर्ने तर काम गर्नेबेला विद्युत नहुँदा निकै मर्कामा परेको उहाँले बताउनुभयो ।

राम्रोसँग उद्योग सञ्चालन गर्न ३३ हजार भोल्टेजको विद्युत आपुर्ति गर्नुपर्ने आवश्यकता गिरीले औँल्याउनुभयो । अहिले ११ हजार भोल्टज भएपनि त्यति पनि पूरा नआउने व्यवसायीको गुनासो छ ।

सरकारले उद्योगी व्यवसायीलाई ऋण उपलब्ध गराउनुपर्ने, उद्योग प्रर्वद्धनका लागि उचित बजेट व्यवस्थापन गर्नुपर्ने, कृषि, वनपैदावार, काष्ठ, पर्यटन लगायतका उद्योग विशिष्टिकरण गरेर सञ्चालन गर्नुपर्ने लगायतका सुझावहरु कार्यक्रममा व्यवसायीहरुले दिएका छन् ।

जिल्लामा राम्रो काम गरेको भन्दै पाँचजना उद्यमीलाई सम्मान गरिएको छ ।

यसैबीच तेस्रो घरेलु उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पाँचजना उत्कृष्ठ उद्यमीलाई दोसल्ला सहित सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा सुवास फलफूल नर्सरी चौरजहारीका नरेन्द्र राना, जंगी आइरन उद्योग मुसिकोटका जंगबहादुर गिरी, जय श्रीराम डेरी सानीभेरीका कुवेरजंग भण्डारी, दिपज्योति साबुन उद्योग बाँफिकोटका हरिबहादुर विष्ट र पाण्डे काष्ठ उद्योग मुसिकोटका नवराज पाण्डे रहनुभएको छ ।