पर्सा, वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाको ठेगाना देखाई नागरिकता हासिल गरेका दुई गैरनागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ ।
दोहोरो नागरिकता प्रयोग गरेको अभियोगमा ३७ वर्षीय अरविन्दकुमार सर्राफ र नक्कली नागरिकता प्रयोग गरेको अभियोगमा २३ वर्षीय दिनेशकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले झुटा प्रमाणका आधारमा वीरगञ्ज महानगरपालिका–९ बाट नागरिकता बनाई नेपाली राहदानीसमेत हासिल गरिसकेका अरविन्दलाई बारा प्रहरीले दोहोरो नागरिकता प्रयोगको अभियोगमा पक्राउ गरी अनुसन्धानका लागि पर्सा पठाएको र राहदानी बनाउने क्रममा दिनेशलाई जिल्ला प्रशासन कार्यालय पर्साबाट पक्राउ गरिएको बताउनुभयो ।
अरविन्दको साथबाट भारतीय मतदाता परिचय–पत्र फेला परेको र दिनेशले बनाएको नागरिकता जिल्ला प्रशासन कार्यालयमा दर्ता नहुनाका साथै कार्ड नै फरक भएको उपरीक्षक ढकालले जानकारी दिनुभयो । उहाँले सरकारले वितरण गर्ने नागरिकताको कार्ड नै छपाइ सीमाक्षेत्रमा नक्कली नागरिकता बनाउने सङ्गठित अपराध भइरहेकातर्फ अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।
पक्राउ परेका अरविन्दमाथि दोहरो नागरिकता मुद्दा र दिनेशमाथि सरकारी कागजात कीर्ते मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । दोहरो नागरिकता मुद्दामा दोषी ठहर हुनेलाई एक वर्ष कैद, रु एक लाख जरिवाना र सरकारी कागजात कीर्ते गर्नेलाई सात वर्ष कैद तथा रु ७० हजार जरिवाना हुने कानूनी प्रावधान छ ।
रासस











प्रतिक्रिया