पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर जिल्लामा प्रत्येक महिना कम्तीमा २ वटा बलात्कारको घट्ना हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो ।
इन्सेक भक्तपुर जिल्ला प्रतिनिधी सविना केसीले भक्तपुर जिल्लामा २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात विगत ११ महिनाको अवधिमा भएको हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायतका घटनाको तथ्याङ्कको सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो ।
सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ११ महिनाको अवधिमा बलात्कारका घटनामा २६ जना पीडित भएको बताउदै उहाँले बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा ३ जना र बाल यौन दुरुपयोगमा एक बालिका पीडित भएको तथ्यांक सार्वजनिक गर्नुभयो ।
तथ्यांक अनुसार जिल्लामा ६ जनाको हत्या भएको, राज्यतर्फबाट २ जनाको हत्या भएको, बहुविवाहको घटनामा नौ जना, अपहरण घटनामा एक जना बालक पीडित भएको छ । अपराधिक घटनामा सङ्लग्नलाई दण्डित गर्न र ऐन कानुन तथा नीति नियम अनुसार कानुनी शासन कायम राख्न आग्रह समेत गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घट्ना घटेको तथ्य बाहिर अएको बताउदै गलत संगतले पनि उमेर नपुगेका किशोरकिशोरीहरु दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको बताउनुभयो ।
शिक्षकले नै चुरोट र रक्सि खाएर हिड्दा पनि विद्यार्थीमा बिकृति मौलाएको बताउदै हिंसामा पुरुषको संलग्नता बढी रहेकाले महिला हिंसा विरुद्धका कार्यक्रममा पुरुषलाई बढी संलग्न गराउनुपर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाईएको बताउनुभयो । नगरपालिकाको न्यायिक समितिमा रहेर काम गर्दा लैङ्गिक हिंसा बढेको पाईएको बताउँदै गतफागुनदेखि नगरपालिकामा ६० वटा मुद्धा आएकोमा २५ वटा मुद्धा मिलाएर पठाएको र नमिलेको मुद्धा अदालत पठाईएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो–“बलात्कार र तथा यौन दुव्र्यबहारको घट्नामा ५२ प्रतिशत छिमेकी, ८ प्रतिशत आफन्त, ३ प्रतिशत साथीहरुबाट भएको पाईएको छ, यसलाई रोक्न कक्षा ८ पढ्नेदेखि १२ सम्म पढ्न विद्यार्थी र अभिभावकलाई जनचेतना जगाउनु आवश्यक छ ।” उहाँले विदेश जानका लागि अदालतमा विवाह गर्ने, विदेश जानका लागि रकम बैंकमा राख्न लगाउने र पछि सम्बन्ध बिच्छेद गर्न आउने संँख्या बढ्दै गएको बताउनुभयो ।
हिंसा र अपराधलाई रोक्न नगरपालिकाले विशेष कार्यक्रम संचालन गर्न कार्यक्रम ल्याउने तयारी गरेको बताउदै अब सामाजिक संघसंस्था, सहकारी, टोलसुधार समितिले जनचेतनामूलक काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरमा प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भक्तपुरमा पनि बलात्कार भयावह अबस्थामा रहेको बताउनुभयो । भक्तपुरमा प्रत्येक महिना दुईजना बलात्कारको शिकार भएको अबस्था रहेको औल्याउदै उहाँले वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमति र श्रीमतिको श्रीमान् पीडित हुदा घरपरिवार नै बिखण्डनदेखि हत्या समेतका घट्ना घटेको बताउनुभयो । यस्ता घट्ना रोक्न प्रहरी मात्रै नभई आमनागरिकले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले अपराधका घट्ना महत्वपूर्ण नभई, कारण महत्वपूर्ण भएकाले कारणलाई नियन्त्रण गर्ने बाटोमा जनप्रतिनिधीले सचेतना जगाउने र प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले महिला हिंसाका घट्ना बढ्नु दुर्भाग्य भएको औल्याउदै यसलाई रोक्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।उहाँले सामाजिक सञ्जालका कारण र फितलो कारबाही नीतिका कारण अपराधका घट्ना बढेको बताउदै उहाँले सहमतिमा सम्बन्ध राख्ने र सहमति विग्रिएपछि बलात्कारको अभियोग लगाउने प्रबृत्ति बढेको औल्याउनुभयो ।











प्रतिक्रिया