मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिकाले नगर शैक्षिक विकासका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउने भएको छ । नगर शिक्षा समितिको चौथो बैठकले शैक्षिक सुधारका लागि योजना बनाउने निर्णय गरेको हो ।
शैक्षिक गुणस्तर सुधार योजनाको प्रस्ताव तयार गर्न आधारभूत तथा माध्यमिक शिक्षा शाखालाई जिम्मेवारी दिइएको छ । शाखालो सरोकारवाला निकायसित छलफल गरी योजना प्रस्ताव तयार गर्ने शाखाका विद्यालय निरीक्षक ईश्वरी ठगुन्नाले जानकारी दिइन् ।
‘संवैधानिक व्यवस्था अनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई आएको छ’ विद्यालय निरीक्षक ठगुन्नाले भनिन्,‘त्यस अनुसार नगरको सबै शैक्षिक अवस्था अध्ययन गरी अल्पकालिन र दिर्घकालिन योजना बनाउने निर्णय गरिएको छ, त्यसका लागि प्रस्ताव तयार गर्न आधारभूत तथा माध्यमिक तह शिक्षा शाखालाई जिम्मेदवारी दिइएको छ ।’
नगर शिक्षा समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा नगर प्रमुख विष्टले नगरको शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र नगरको विकास र समृद्धिमा प्रयोग गर्न सकिने गरी योजना बनाउनु पर्नेमा जोड दिए ।
‘शैक्षिक क्षेत्रको विकास विना कुनै पनि देश अगाडि बढ्न सक्दैन, नगरको विकास पनि शिक्षामै निर्भर छ, त्यसैले गुणस्तरीय शिक्षा, प्रतिस्पर्धी शिक्षा आवश्यक छ, त्यसका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर जान्छौ’ उनले भने ।
बैठकले भीमदत्त नगरपालिकालाई साक्षर नगर घोषणाका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ । १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिको साक्षरता ९० प्रतिशत पुगेपछि साक्षर घोषणा गरिने प्रावधान छ । अहिले भीमदत्त नगरपालिकाको साक्षरता ८० प्रतिशत हाराहारीमा छ ।
‘साक्षरता दर बढेको छ, यसका लागि घरधुरी सर्भेक्षण गरी साक्षर नगर घोषणाका लागि आवश्यक तयारी गछौ’ आधारभूत तथा माध्यमिक शिक्षा शाखाका विद्यालय निरीक्षक ठगुन्नाले भनिन् ।न्यून विद्यार्थी संख्या भएका विद्यालयलाई एक आपशमा गाभ्नका लागि छलफल समेत गर्ने निर्णय गरिएको छ । भीमदत्त नगरपालिकामा ५५ सामुदायिक, ६५ संस्थागत र एक गुरुकुल विद्यालय सञ्चालनमा छन् ।











प्रतिक्रिया