विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

0
Shares

हेटौंडा ।
किशोरी विद्यार्थी एक्कासी ढल्न थालेपछि मकवानपुरगढी गाउँपालिका–७ मा रहेको जनता मावि ३ दिन बन्द गरिएको छ । विद्यार्थीहरु भकाभक ढल्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालय व्यबस्थापन समिति अध्यक्ष चन्द्र योञ्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेषगरी किशोरी अबस्थाकाहरु एक्कासी ढल्ने, बेहोस हुने र अनौठो क्रियाकलाप गर्ने, झगडा गर्नेजस्ता समस्या देखिएपछि विद्यालय बन्द गरिएको हो । अध्यक्ष योञ्जनका अनुसार उनीहरुको समस्या पहिचान गरेरमात्र विद्यालय खोल्ने तयारी छ । उहाँका अनुसार यसअघि पनि विद्यालयमा विद्यार्थीहरु बेहोस हुने समस्या देखिएको थियो ।

पारिवारिक वा सामाजिक तनाव, अध्ययन या कामको बोझ, किशोरीहरुमा क्रमशः विकसित भइरहेका शारीरिक परिवर्तन (यौन अंगको वृद्धिविकास, हर्मोनमा हुने उतारचढाव, महिनावारिको शुरुवात) आदि सबै कारकतत्व यससँग सम्बन्धित हुनसक्ने चिकित्सकको भनाइ छ ।

मस्तिष्कका केही अवयवमा हुने परिवर्तनसमेत यसका लागि जिम्मेवार ठानिएको छ । मनोवैज्ञानिक शोधहरुले जुन कुरा व्यक्तिले मौखिक एवम् स्पष्टरुपमा बाहिर प्रकट गर्न सकिरहेका हुँदैनन् वा व्यक्त गर्न पाउँदैनन्, ती सब लाक्षणिकरुपमा यो रोगमा देखा पर्दछन् भन्ने प्रमाणित गरेका छन् । ती लक्षणको मनोवैज्ञानिक विश्लेषण गर्न सक्नेहरुले मात्र त्यसको उचित उपचार गर्न सक्छन् ।

यो रोग धेरै जनालाई एकै पटक उस्तै प्रकृतिका लक्षणहरुसहित देखा पर्न पनि सक्छ । यस्ता बिरामीलाई धामी–झाँक्रीकहाँ लैजाँदा बिरामीको रोगको सही पहिचान र उपचार हुन नसक्ने मात्र नभएर अन्धविश्वासको मात्रामा वृद्धि हुन्छ । त्यसैले यस्ता लक्षण देखिए बिरामीलाई तुरुन्त डाक्टरकोमा लैजानुपर्ने र उनीहरुको आवश्यक उपचार गराउनुपर्ने सुझाव दिइएको छ ।