होस्राङ्गदीमा लिफ्ट खानेपानी योजना, झोलासँगै गाग्री बोक्ने समस्या अन्त्य

0
Shares

दुर्गाप्रसाद शर्मा, होस्राङ्गदी, पर्वत
एक बर्ष अघि सम्म सुभद्रीखर्कका बिद्यार्थी गाग्री र झोला संगै राखेर बिद्यालय जान्थे । बिहान झोला संगै रित्तो गाग्री बोकेर बिद्यालय पुग्ने र दिनभर पढाई सकेर बेलुका फर्कदा पानीले भरिएको गाग्री बोकेर घर फर्कनुपर्ने दैनिकी थियो उनीहरुको ।

नजिकै खानेपानी नहुँदा बिद्यार्थी मात्रै होइन अभिभावकले पनि दुई घण्टा लगाएर पानी ओसार्नुपर्ने बाध्यता अहिले टरेको छ । महाशिला गाउँपालिका वडा नं १ होस्राङ्गदीमा बिद्युतले पानी तान्ने लिफ्ट खानेपानी योजना निर्माण भएपछि उनीहरुको पानी बोक्ने दुःख हटेको हो ।

पश्चिम नेपाल ग्रामिण खानेपानी योजनाको सहयोगमा गाउँमा लिफ्ट गरेर पानी तानेपछि दुई घण्टा टाढाको कालीगैह्रा पुग्नुपर्ने समस्या हटेको छ । एक गाग्री पानीका लागि २ घण्टासम्म हिँडेका हाश्र्याङ्दीबासीले ९० दिनसम्म श्रमदान गरेर ल्याए घरघरमै पानी ल्याउन सफल भएका हुन । कुल १ करोड ७७ लाख ८ हजार ३ सय ३१ रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको हो ।

आयोजनामा २५ प्रतिशत अर्थात ४२ लाख बराबरको श्रमदान स्थानियबासीले गरेको महाशिला वडा नं १ का अध्यक्ष ईश्वरी भूषालले जनकारी दिनुभयो। आयोजनामा एक घरधुरी अर्थात लाभग्राहीले ९० दिनसम्म श्रमदान गरेका छन । ‘पानीको चरम समस्याबाट मुक्ति पाउन हरेक घरले तीन महिना सम्म श्रमदान पनि गरेका छन’ उहाँले भन्नुभयो ‘बिद्यार्थी र महिलाको बिहान र बेलुकाको समय दुई गाग्री पानी बोक्दैमा बित्ने अवस्थाबाट मुक्ति मिलेको छ । ’
एकक घर एक धारा कार्यक्रम अन्तर्गत ८७ घर र एक स्कूलले यस पानी प्रयोग गरिरहेका छन । अघि करिब २ घण्टा गाग्रीमा पानी बोकेर दैनिकी चलाउँदै आएका महाशिला गाउँपालिका वडा नं १ होस्राङ्दीका जमपुर, गढी र पयौंकोटबासीले यो खानेपानीबाट लाभ लिएका छन । होस्राङ्गदीका यी गाउँमा नजिकै पानीको मुल नभएकोले पानी लिनका लागि एक घण्टा तल पर्ने कुवा र खोल्साहरुमा जानुपर्ने बाध्यता थियो ।

गाउँमा खानेपानीको अभाब भएपछि एक दशक पहिले निर्माण गरिएका सिमेन्टका घैंटाहरु पनि फुटेका थिए । वर्षा याममा आकाशको पानी जम्मा गरेर हिउँदमा प्रयोग गर्न बनाइएका घैंटाहरु कम गुणस्तरका बनेका कारण एक दशकमै काम नलाग्ने गरी फुटेका थिए ।

यसैबीच होस्राङ्गदी लिफ्ट खानेपानी योजनाको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका होस्राङ्गदीबासीले राहत पाएको बताउँदै पर्वतमा अबको पाँच बर्षमा एकघर एक धारा सबैघरधुरीमा पुग्छ । उहाँले पर्वतको दक्षिण क्षेत्रमा सडक र खानेपानीको समस्या रहेकाले कालोपत्रे सडक बनाउने कुरालाई उच्च प्राथमिकतामा राखिन्छ भन्नुभयो ।