आमादब्लम हिमालमा ४ हजार किलो फोहर, सफाई अभियान अन्तिम चरणमा

0
Shares

दीपक रिजाल, नाम्चे, सोलुखुम्वु । बिश्वकै सुन्दर हिमालको उपमा पाएको आमादब्लम हिमाल सफाई अभियान अन्तिम चरणमा पुगेको छ ।
सन् १९५३ बाट उक्त हिमाल आरोहण शुरु गरिएको थियो । हिमाल चढ्ने बिदेशी पर्यटकले गरेको फोहरले प्रदूषित भएपछि पहिलोपटक उक्त हिमाल सफाई अभियान शुरु गरिएको हो ।

जलबायु परिर्वतनका कारण खतराको सुचीमा पर्दै गएका नेपालका हिमालहरुको सुन्दरता र प्रदुषण मुक्त बनाउनका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिको अगुवाईमा पहिलोपटक आमादब्लम हिमालको पुरै सफाई अभियान शुरु भएको समितिका आर्थिक तथा प्रशासन प्रमुख निसान श्रेष्ठले जानकारी दिनुभयो ।

बिभिन्न हिमाल आरोहणमा संलग्न रहेका १२ जना शेर्पाहरुले अहिले हिमाल सफाई अभियानलाई तीव्रता दिइरहेका छन् । नोभेम्वर १५ बाट शुरु भएको आमादब्लन हिमाल सफाई अभियान आउँदो शुक्रबारसम्म जारी रहने आर्थिक तथा प्रशासन प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसपटकको सफाई अभियानका क्रममा अन्दाजी ४ हजार किलो फोहर संकलन हुने अनुमान गरिएको छ । आमादब्लम हिमालको चुचुरोबाट शुरु गरिएको सफाई अभियान क्याप १ र बेशक्याम्पतिर आइपुगेको छ ।
हिमाल आरोहीहरुले नेपाल सरकारबाट हिमाल आरोहण गर्न अनुमती लिँदा आरोहण सकिएपछि सबै फोहर संकलन गरेर फिर्ता ल्याउने प्रतिवद्धता जनाउने गरे पनि प्रतिवद्धताअनुरुपको काम नहुँदा हिमालहरु फोहोर हुने गरेको नेपालका प्रसिद्ध हिमाल आरोही फुनुरु शेर्पाले बताउनुभयो ।
बिश्वकै सुन्दर हिमाल आमादब्लम हिमाल आरोहरण गर्न यसपटक ३१ समुहले अनुमति लिएको भए पनि हिमालमा बढ्दै गएको प्रदुषणका कारण सांग्रिला नेपालबाट आरोहण गर्न गएका आरोही सहितका ६–७ वटा समुहले आरोहण नै त्यागेको शेर्पाको भनाइ छ ।

उक्त हिमाल सफाई गर्न झण्डै ७० लाख रुपिया खर्च हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिनुभयो । हिमाल सफाई गर्न सोलुखुम्वुको खुम्वु पासाङ गाउंपालिकाले ५० लाख रुपिया दिएको छ भने सगरमाथा प्रदुषण नियन्त्रण समितिले २० लाख रुपिया खर्च गर्ने भएको छ । अहिलेसम्म पुरानो डोरीका मुठाहरु, टेन्टका टुक्राहरु, आइसह्याम्वरहरु, हिमाल आरोहणका क्रममा प्रयोग भएका हेलमेट, बुट, लगाउने लुगा, खाद्य पदार्थहरु, बोटल, बोरा, कार्टुन, किचनका सामग्रीहरु लगायतका फोहर संकलन भएका छन् ।

हिमाल आरोहण गर्न गएका कतिपय आरोहीहरुको आरोहणका क्रममा मृत्यु भएको छ । कतिपयको शव देखिए पनि कानुनी झन्झटका कारण हिमालका बिभिन्न ठाउंमा अहिले पनि अलपत्र अवस्थामा रहेका छन । मृतकको सनाखत नभएसम्म उठाउन नपाइने भएकाले शवहरु अहिले पनि हिमालका बिभिन्न ठाउंमा रहेका छन् । बढी खर्च हुने भएकाले ती शवहरु आफन्तले नै नलगेकाले हिमाल फोहर हुन थालेको श्रेष्ठले बताउनुभयो ।

आरोहीहरुले आरोहण नै त्याग्न थालेपछि मुलुकको प्रमुख आयस्रोतको रुपमा रहेको रोयल्टी नै गुम्ने खतरा बढेको छ । यस्तो अवस्था आएपछि मात्रै उक्त समिति तातेको हो । प्रदुषणका कारण आमादब्दम हिमालको याक क्याम्प र बेश क्याम्पमा हिउं नभएकाले आरोहीहरुले पानी बोकेर जानुपर्ने बाध्यता रहेको आरोही शेर्पाले बताउनुभयो । केही बर्षअघिसम्म याक क्याम्पसम्म ग्लेसियर सधैँ रहने गरेको कारण आमादब्लन हिमाल आरोहण गर्नेहरुलाई पानीको चिन्ता हुने गरेको थिएन ।

प्रदुषण नियन्त्रण र फोहरबाट हिमाल बचाउन चालिएको अहिलेको अभियानमा नेपाली सेनाले समेत साथ दिएको छ । शेर्पाहरुले हिमालबाट संकलन गरेर दिङबेचे ल्याउने फोहर त्यसपछि सेनाले ब्यवस्थापन गर्ने भएको छ ।