राजपा महाधिवेशनको तयारीः झा र यादब संयोजक बन्न नपाउने

0
Shares

गंगा बराल, काठमाडौं
बैशाखमा महाधिवेशन भए राष्ट्रिय जनता पार्टी (राजपा) मा अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजकिशोर यादब अध्यक्ष मण्डलको संयोजक बन्नबाट बन्चित हुने भएका छन ।

राजपाले आउदो वैशाखको ७, ८ र ९ गते एकताको प्रथम ऐतिहासिक महाधिवेशन गर्ने भएको छ । अध्यक्ष मण्डलका संस्थापक संयोजक महन्थ ठाकुरले चक्रीण प्रणाली नमानेका कारण उहाँहरुको संयोजक बन्ने सम्भावना कमजोर बन्दै गएको हो ।

२०७४ बैशाख ७ गते ६ वटा पार्टी मिलेर राजपा बनेको थियो । ५ वटा पार्टीले एकताको निर्णय गरिसकेपछि अन्तिममा मात्र झा नेतृत्वको पार्टी समावेश भएको थियो । ठाकुर त्यो बेलादेखि मंसिर ४ गतेसम्म संयोजकको रुपमा रहनु भएको थियो । पार्टी विधानको धारा १६ को उपधारा (५) मा चक्रीय प्रणालीमा अध्यक्ष चयन हुने व्यवस्था स्पष्ट भए पनि ठाकुरले संयोजक नछोड्दा समस्या उत्पन्न भएको थियो ।

मंसिर ४ गतेबाट राजेन्द्र महतो संयोजक बन्नुभएको छ । महतोले २ महिनामा नेतृत्व हस्तान्तरण गरे त्यसपछि महिन्द्र राय यादब, शरतसिंह भण्डारी संयोजक हुनुहुने भएको छ ।

बैशाखमा भण्डारीको संयोजक हुने पालो आउने भएको छ । महाधिवेशन समयमै नभए अन्तिममा आएर झा र यादब संयोजक बन्नुहुने भएको छ । राजपाले २०७४ असार २३ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निबेदन दिएको थियो । आयोगले असार ३० गते मात्र दल दर्ताको आधिकारिकता दिएको थियो । त्यसो हुँदा असार ३० गतेसम्म आयोगमा नयाँ समितिको नाम बुझाए फरक नपर्ने भएको छ ।

राजपा महासचिव केशब झाले वैशाखमा नै महाधिवेशन भइहाल्छ भन्ने विश्वासिलो आधार नभएको बताउनुभयो । ‘महाधिवेशन गर्ने भनेका छौं तर पनि केही समस्या छ’, झाले भन्नुभयो– ‘कसैको पनि स्वार्थ नहेरी महाधिवेशन जाने एक मात्र उद्देश्य बनाइयो भने शंका गरिरहनु पर्दैन ।’ महतो संयोजक भएपछि ठाकुरले गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनित बदर भएको छ । ठाकुरले कसैसँग सल्लाह नै नगरी आफू निकटलाई मात्र मनोनीत गरेको भन्दै बदर गरिएको जनाइएको छ । उहाँले झन्डै १ सय ५० भन्दा बढी केन्द्रिय सदस्य मनोनीत गरेको पार्टीले जनाएको छ । अहिले ८ सय १५ जनाको केन्द्रीय समिति रहेको छ । आयोगमा बुझाइएको नामावली मात्र सदर भएको छ ।

राजपामा अध्यक्ष मण्डल (६ जना), राजनीतिक समिति (२९ जना), पदाधिकारी समिति (१३४ जना) रहेका छन् । केन्द्रमा संयोजक विवाद भए पनि जिल्लामा भनें चक्रीय प्रणाली कायम रहेको महासचिव झाले बताउनुभयो ।
झाका अनुसार १, २, ५ र सुदुर पश्चिम प्रदेशमा आलोपालो नेतृत्व चलिरहेको छ । अन्य प्रदेशमा भने जसको बढी बाहुल्यता रहेको छ उसैले नेतृत्व गर्दै आएको छ । एउटा प्रतिनिधिसभा निर्बाचन क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि आउनेछन् । महाधिवेशनपछि आउने नयाँ नेतृत्वमा १ जनामात्र अध्यक्ष रहनेछन् भने अन्य पदाधिकारीको टुंगो महाधिवेशनले नै लगाउनेछ ।
राजपाको सोमबार बोलाइएको अध्यक्ष मण्डलको बैठक स्थगित भएको छ । अध्यक्ष मण्डलका सदस्य राजकिशोर झा गृह जिल्ला भएर उपस्थित हुन नसकेपछि बैठक बस्न नसकेको हो । अध्यक्ष मण्डलका संयोजकसहित बाँकी ५ जना सदस्य अनिवार्य उपस्थित नहुँदा बैठक बस्ने गरेको छैन । राजपाले सोमबारको बैठकमा पार्टी संगठन विस्तार र संघर्षको कार्यक्रमको तयारी गर्ने कार्यसूची बनाएको थियो ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘आजभोलि नै त त्यस्तो निर्णय नहोला तर पनि छिट्टै यो विषय पनि एजेन्डा बन्छ’, झाले भन्नुभयो– ‘यही रिसमा २ नम्बर प्रदेशमा नेकपाले हाम्रो सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि कुनै असर पर्दैन ।’ राजपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागिता जनाएको छैन ।

२ नम्बर प्रदेशमा १ सय ७ सांसद रहेका छन् । राजपाको संसद संख्या २५, संघीय समाजबादी फोरमको ३०, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र रिजवन अन्सारी नेतृत्वको पार्टीको १ सिट रहेको छ । १ सिट रहेको पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । राजपाका सांसद सरोज यादब सभामुख हुनुहुन्छ, उपसभामुख संघीय समाजबादी फोरमले पाएको छ । राजपा र फोरमको गरी ५५ सांसद् रहेका छन्, । सरकार सञ्चालनका लागि यो आवश्यक बहुमत हो ।

महिन्द्र राय यादबले केही अघि ठाकुरको बिरुद्धमा दिएको अभिव्यक्तिप्रति ठाकुर पक्षले आपत्ति जनाएका छन् । उनीहरुले ठाकुरसमक्ष यादबले माफी माग्नुपर्ने माग गरेका छन् ।