नयाँ शहरको काम अलपत्र

0
Shares

धनवीर दाहाल, रुकुम ।
देशका दश नमुना शहर निर्माण गर्ने सरकारी लक्ष्य अनुरुप रुकुम पश्चिमको चौरजहारीमा संचालीत नयाँ शहरको काम अलपत्र परेको छ । कतिपय कामहरु ठेकेदारको लार्पबाहीमा अलपत्र परेका देखिन्छ तर रुकुम चौरजहारी स्थित नयाँ शहरीको काम भने सम्झौता भइसकेको भएपनि नयाँ शहर आयोजनाले ठेकेदार कम्पनीलाई साइट नदिँदा अलपत्र परेको हो ।

गत असार १८ गते आयोजना र स्वच्छन्द बानियाँ द क्याराभान जे भि बिच सम्झौता भएको भएपनि साउन महिना बर्षातको समय भएकोले काम सुरु गर्न नसकिएको बताइएको छ । तर भदौदेखी काम गर्ने भनिएपनि हाल सम्म सुरु नहुँदा कामका लागी ल्याइएका मेसिनहरु थन्क्याइएका छन् ।

गत भदौ १ गतेदेखी नै साइटमा आवश्यक जनशक्ति र मेसिन तथा अन्य निर्माण सामाग्री पुर्याइएको भएपनि काम गर्नका लागी नयाँ शहर आयोजनाले लाइन नदिँदा अलपत्र अवस्थामा बस्नु परेको स्वच्छन्द बानियाँ द क्याराभान जे भि का सुपर भाइजर सोमनाथ थकालीले बताउनुभयो । उहाँले नयाँ शहर आयोजनाले साइट नदिँदा काम रोकिएको र मेसिनहरु स्काइभेटर , जेसिभी, टिप्पर, ट्याक्टर, तथा १५० जना कामदार त्यतिकै बस्नुपरेको बताउनुभयो ।


काम गर्ने भनेर कामदारलाई बोलाइसकेको भएपनि काम गर्न लाइन नदिँदा समस्या भएको थकालीले बताउनुभयो । स्वच्छन्द बानियाँ द क्याराभान जे भिका उपेन्द्र खड्काले कामको लागी नयाँ शहर आयोजना कार्यालयले साइट नदिँदा समस्या भएको बताउनुभयो । सामान र कामदारका लागि १० करोड खर्च भइसकेको उहाँले बताउनुभयो ।


३५ करोड ७० लाख बजेटमा साढे ७ किलोमिटर कालोपत्रे गर्ने, १० किलो मिटर नयाँ कटिंग गर्ने, ग्याभिंग , मेसिनरी वाल र साइट नालीहरु निर्माण गर्नका लागी ठेक्का सम्झौता भएको थियो । तर नयाँ शहर आयोजना कार्यालय चौरजहारीमा कार्यालय प्रमुख नभएको १० दिन भइसकेको छ । यसभन्दा अघिका कार्यालय प्रमुख रञ्जनकुमार दासको सरुवा भइसकेको र नयाँ कार्यालय प्रमुख नआएकोले काममा ढिलाई भएको कार्यालयले जनाएको छ ।