सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणबारे छलफलका लागि जापानी टोली नेपालमा

0
Shares

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग निर्माणबारे छलफल गर्न जापानी टोली नेपालमा आइपुगेको छ । उक्त कार्यका लागि ऋण सम्झौता भने ६ महिनापछि हुने भएको छ। काठमाडौं अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग निर्माण ऋण सम्झौता ६ महिनापछि हुने भएको हो।

सुरुङमार्ग निर्माणका बारेमा छलफल गर्न आइतबार जापानबाट एक टोली नेपाल आएको हो। त्यही टोलीसँगको छलफलमा ऋण सम्झौता वैशाखमा गर्ने जानकारी दिएको सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।

जापानी टोलीसँग ऋणको मोडालिटीका बारेमा छलफल हुनेछ। यो छलफल तीन दिनसम्म चल्नेछ। जापानबाट आएको टोलीमा प्राविधिक समेत छन्। उनीहरु सहमत भए डिसेम्बरमा द्धिपक्षीय छलफल हुनेछ।

बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उदेश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो। करिब १६ किलोमिटर यो सडक विस्तारका गर्न प्रारम्भिक सर्भे समेत भैसकेको छ। जापान अन्तर्राष्ट्रिय नियोग (जाइका)ले सडक विस्तार तथा सुरुङमार्ग निर्माण गर्नका लागि प्रारम्भिक सर्भे रिपोर्ट तयार पारेको हो।

प्रारम्भिक रिपोर्ट अनुसार सडक विस्तार गर्न र सुरुङमार्ग निर्माण गर्नका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जापानले ०.२ प्रतिशत ब्याजदरमा ऋण दिने प्रतिबद्धता जनाएको छ। जापानसँग ऋण सम्झौता भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ। जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर–सूर्यविनायक सडक खण्ड ६ लेनको छ।