हिजो बस्ने भनिएको नेकपाको सचिवालय बैठक आज

0
Shares

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक केन्द्रीय सदस्यको कार्यविभाजनमा गृहकार्य नपुगेको भन्दै आजका लागि सारिएको थियो । आजको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठन, प्रदेश समितिमा पूर्णता, स्थायी समिति बैठकलगायतका कार्यसूची छन् ।

मंसिर ८ गते शनिबार बसेको सचिवालय बैठकमा कार्यविभाजनबारे छलफल शुरु भएको थियो । आइतबार थप गृहकार्य गरी सोमबार त्यसको टुङ्गो लगाउने जानकारी गराइएको थियो । यसअघि पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको भन्दै २१ केन्द्रीय सदस्यहरुले महासचिव बिष्णु पौैडेललार्ई ज्ञापनपत्र बुुझाएका थिए ।

कार्यविभाजनका लागि गठन भएको कार्यदलले हिजो थप गृहकार्य गरेको छ । कार्यदलले कार्यविभाजनको टुङ्गो लगाएपछि सचिवालयमा बुझाउनेछ र सचिवालयमा छलफलपछि टुङ्गो लगाइनेछ । केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्गो लगाउनुभन्दा पहिला पोलिटब्युरोको टुङ्गो लगाउनुपर्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले अडान लिनुभएको थियो तर सचिवालयले केन्द्रीय सदस्यको कायैविभाजनलाई नै प्राथमिकतामा राखेको छ । जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो ।