‘निर्मलाका बुबा आमाको स्वास्थ्य अवस्था बिग्रँदै जानुमा प्रधानमन्त्री दोषी’

0
Shares

नेपाल समाचारपत्र, चितवन
नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले निर्मला पन्तका बाबु आमाको अवस्था बिग्रदै जानु प्रधानमन्त्री केपी शर्मा ओली दोषी भएको आरोप लगाएका छन् ।

आज (सोमबार) नेपाल महिला संघ चितवनले नारायणगढमा आयोजना गरेको नेपाल प्रेस युनियन चितवनका नवनिर्वा्चित समितिलाई स्वागत तथा सम्मान एवंम १६ दिने महिला हिंसाविरुद्धको अभियान कार्यक्रममा बोल्दै नेता थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारीपन, असंवेदनशिलता र अमानवियताको कारण निर्मलाका बुबा आमाले आत्म सम्मान र विश्वास गुमाएको बताए ।

उनले सरकार र नेकपाका नेताहरु नै बलात्कारीहरुलाई संरक्षण दिएको आरोप लगाउँदै सरकारले छिट्टो भन्दा छिट्टो न्याय दिलाउन आग्रह गरे । उनले यस्ता घटनाविरुद्ध सरकार गम्भिर नभएकोले पनि घटनाहरु बढ्दै गएको बताए ।

नेता थापाले निर्मला पन्तको घटना एउटा प्रतिनिधिमुलक भएको भन्दै १६ दिने महिला हिंसाविरुद्धको अभियानमा यस विषयलाई मूख्य रुपमा उठान महिला संघलाई आग्रह गरे ।

यस्तै युवा नेता थापाले वर्तमान दुई तिहाईको वर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हाक्न नसक्ने ठोकुवा समेत गरे । उनले भने–“यो सरकारले संघीयता चलाउन सक्दैन्, कर्मचारीलाई मिलाउन पनि जान्दैन,जहिल्यै पनि कर्मचारीलाई सराप्दै मात्रै बस्छ ।”

नेता थापाले वर्तमान सरकारले ठूलो भारी बोकेकोले राम्रो काम गर्न नसक्ने बताए । “यो सरकारले काम गर्न सक्दैन, चुनाव जित्नैका लागि यो बामगठबन्धन बनेको हो, यो लोभीपापीहरुको गठबन्धन हो”–नेता थापाले भने । उनले सरकारले काम गर्न सक्दैन भनेर काँग्रेसका नेताहरुले बोल्नै नपर्ने भन्दै नेकपा नेताहरु नै कापी रहेको टिप्पणी गरे । उनले दुई पार्टी मिलेर ठूलो पार्टी बने पनि अगाडि हिड्न नसक्ने बताए । “सरकारले ठूलो भारी बोकेको छ तर हिड्ने क्षमता छैन, यसले संघीय देश चलाउन सक्दैन् ।”–नेता थापाले भने ।

यस्तै नेता थापाले देश दौडाहाको क्रममा काँग्रेस नेता तथा कार्यकर्ताहरुमा निर्वाचनमा व्यहोरेको पराजयका कारण नैरास्यता छाएको पाएको भन्दै एउटा चुनाव हार्दैमा निराश नहुन सबै कार्यकर्ताहरुमा आग्रह गरे । उनले अबको चार वर्ष जनताको पक्षमा सबैलाई काम गर्न आग्रह गर्दै लोकतन्त्रलाई बचाउन काँग्रेस नै अपरिहार्य रहेको बताए । “नेपाली काँग्रेस बरालियो भने लोकतन्त्रले मूल्य चुकाउनुपर्छ, त्यति मात्र नभई सिंगो देशले मूल्य चुकाउनुपर्छ”–नेता थापाले भने ।