निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय लाभान्वित

0
Shares

नेपाल समाचारपत्र, बर्दिया
बर्दियाको बढैयाताल गाउँपालिका–४ को खैरेनी गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आएका अधिकांश स्वास्थ्य परीक्षणका लागि आएका बालबालिकाको कानमा समस्या देखिएको छ ।

नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका बालरोग विशेषज्ञ डा. अनुप सिंहले शिविरमा आएका अधिकांश बालबालिकामा फोहोर पानीले नुहाउँदा पानी पसेर कानमा समस्या देखिएको बताउनुभयो । पटकपटक रुघा लागेर समयमा उपचार नपाएको कारण बालबालिकाको कान पाकेको, कान पटक पटक कान पाक्यो भने श्रवण शक्ति ¥हास हुँदै जाने र पठनपाठनमा समेत समस्या उत्पन्न हुँदै जाने डा. अनुप सिंहले बताउनुभयो ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा आएका सर्वसाधारणलाई चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

केन्द्रकी अध्यक्ष श्रीमती लता शर्माले दिनु भएको जानकारीअनुसार शिविरबाट गेरुवा गाउँपालिका अन्तर्गतका ३३६ जना महिला र १६१ जना पुरुष समेत ४९७ जना सर्वसाधारण स्वास्थ्य सेवाबाट लाभान्वित भएका थिए भने सबभन्दा कम उमेर ३ महिनाको बालबालिकादेखि ८६ वर्षिय वृद्ध तथा ८० वर्षिया महिलाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरे ।

९५ प्रतिशत भन्दा बढी थारु समुदायका सेवाग्राहीहरुको भीड लागेको थियो । सो शिविरमा स्वास्थ्य परीक्षणमा संलग्न नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. नेत्रप्रसाद बन्जाडेका अनुसार फोहर पानी, खानपान, थारु जातिमा रक्सी मासु माछाको अत्यधिक प्रयोगले गर्दा पनि बाथ रोगको समस्या, आँखाको दुखाई, आँखाबाट पानी बग्ने, मोतिया विन्दू, कानबाट पिप बग्ने, छालाको समस्या, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने आदि सम्बन्धि समस्याबाट पीडित देखिएका थिए ।