केसीद्वारा पनः सरकारलाइ अल्टिमेटम

0
Shares

काठमाडौ, नेपाल समाचारपत्र
प्रा.डा. गोविन्द केसीले सरकारलाई फेरि अल्टिमेटम दिनुभएको छ । १५ औं अनसनका सम्झौता पुरा नभएको कारण देखाई उहाँले आगामी पुष २ गते सम्मका लागि अल्टिमेटम दिनुभएको हो ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्राडा केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन सरकारसँग माग गर्नुभयो ।

पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख छ–‘निर्मलामाथि बीभत्स अपराध भएको साढे ३ महिना पुगिसकेको छ । यसबीच प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले अपराधी पत्ता लगाउने भाषण गर्नमै सीमित छन् र अनुसन्धानमा कुनै प्रगति भएको छैन । बरु घटना छानबिनका लागि बनेको समितिको प्रतिवेदनसमेत औपचारिकतामा अलमलिएर घाउमा नुनचुक छर्ने काम मात्रै गरेको छ ।’

साथै उहाँले प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी कारबाही गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

अहिले प्रहरी र गृह मन्त्रालयलगायत सिंगो राज्य संरचना अपराध नियन्त्रण गर्नुको सट्टा अपराधीलाई संरक्षण गर्न, अपराधका प्रमाणहरू नष्ट गर्न र फर्जी अपराधी उत्पादन गर्नमा लिप्त भएको भान परेको बताउँदै केसीले उक्त विज्ञप्तिमा भन्नुभएको छ –राजनीतिक नेतृत्वले आफ्नो नामबाट दलाल, माफिया, बिचौलिया र अपराधीलाई देश चलाउन छाडिदिएको छ ।

फलस्वरूप निर्मला पन्तजस्ता बालबालिका, किशोरी तथा महिला दिनानुदिन बलात्कार र हत्यालगायत जघन्य अपराधका सिकार भइरहेका छन् । तिनका अपराधी अहिले पनि खुलेआम हिँडिरहेका छन् भने न्यायको खोजीमा भौँतारिएका तिनका आफन्तले राज्यबाट न्यायको सट्टा अपमान र यातना पाइरहेका छन् ।’

प्राडा.केसीले अरु आफ्ना पुरानै मागहरू राख्दै आगामी पुस दुई गतेसम्म माग पूरा नभए सत्याग्रहसमेतको आन्दोलन सुरु गर्ने जानकारी दिनुभएको छ ।