विप्रेषण ३७ प्रतिशतले बढ्यो

0
Shares

काठमाडौं, (नेस) चालू आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले वृद्धि भई २४२ अर्ब १७ करोड रुपियाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६ दशमलव ६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव ४ प्रतिशतले वृद्धि भई २७० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ दशमलव ३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।