लागूऔषध र नगदसहित दुई युवा पक्राउ

0
Shares

कृष्ण आचार्य, चितवन
चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार राती ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नंं २ समीचोकमा लागुऔषध र नगदसहित चितवनका युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर २ बस्ने वर्ष २५ का केशव घले र सोही वडामा बस्ने वर्ष २४ का विशाल घले रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको छ । यस्तै उनीहरुको साथबाट डाईजेपाम २७१ एम्पुल, व्युप्रिनर्फिन २७१ एम्पुल, फेनारगन २७१ एम्पुल बरामद गरेको छ ।

भरतपुर २ समीचोकमा केही व्यक्तिहरुले लागु औषध बेचबिखन गर्दै हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको कमाण्डमा खटिएको टोली दुई जनालाई शंकास्पद अवस्थामा फेला पारेको थियो । केशव र विशाललाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा केश घलेले बोकेको झोलामा ती लागु औषध र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।

उनीहरुले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागुऔषध विक्री गरी आर्जन गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

चितवन प्रहरीले जिल्लालाई शान्ति र सुरक्षित बनाउन थ्रीएस अप्रेशन संचालन गरिरहेको छ । जसअन्तरगत विभिन्न अपराधिक कार्य गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल हुँदै आएको छ ।

यस्तै चितवन प्रहरीले फरार एक जना अभियुक्त पक्राउ गरी चितवन जिल्ला अदालतमा समेत बुझाएको छ ।