रोल्पाका स्थानीय तहमा ६०/४० को भागवण्डा

0
Shares

महेश न्यौपाने, रोल्पा
लामो समय सम्म तल्ला तहमा एकीकरण हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले जिल्लाका दश वटै स्थानीय तहमा नेतृत्व वाँडफाँडको टुंगो लगाएको छ । स्थानीय तह एकता कार्यदलको शनिवार सदरमुकाम लिवाङमा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।

कार्यदलको निर्णय वमोजिम अव जिल्लाका रुन्टीवढी, त्रिवेणी,गंगादेव र लुंग्री गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्नेछ । यसैगरि रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थबाङ, गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्नेछ । दश मध्ये पूर्व एमालेले ४ र पूर्व माओवादीले ६ स्थानीय तहको नेतृत्व गर्ने सहमति भयो कार्यदल सदस्य हरिप्रसाद घर्तीले भने ।

गत वर्षको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मानी उक्त भाग वण्डा गरिएको वताइएको छ । स्थानीय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका पूर्व एमाले निर्वाचित भएका गाउँपालिका हुन । गंगादेव गाउँपालिकामा समेत पूर्व माओवादी केन्द्रका उम्मेदवार संग एमाले उम्मेदवार झिनो मतान्तरले पराजित भएका थिए ।

नेपाली कांग्रेसले जितेको जिल्लाको एक मात्र गाउँपालिका लुंग्री गाउँपालिकाको नेतृत्व समेत पूर्व एमालेले गर्ने भएको छ । पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएका रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्व एमाले संग ठूलो मतान्तरण रहेका स्थानीय तहहरु हुन ।

पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने सवै स्थानीय तहमा नेपाली कांग्रेस सशक्त प्रतिपक्षको रुपमा रहेको वताईन्छ । परिवर्तन गाउँपालिका स्थानीय तह निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले क्लीन स्वीप गरेको जिल्लाको एक मात्र स्थानीय तह हो । माडी गाउँपालिकामा तत्कालिन एमाले र नेपाली कांग्रेसले गठवन्धन गरि निर्वाचन लडेका थिए भने वहुचर्चित थवाङ गाउँपालिकामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ता र नेपाली कांग्रेसले गठवन्धन गरि स्थानीय निर्वाचनमा भाग लिएका थिए ।

तत्कालिन पार्टी कमिटीको नेतृत्व गर्ने पदाधिकारीले नै एकीकृत पार्टीको समेत नेतृत्व गर्ने गरि मापदण्ड वनाएका छौ कार्यदल सदस्य घर्तीले भने । नयाँ नेतृत्व चयन गर्नु पर्ने अवस्था आए सहमतिका आधारमा आएको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय भएको छ घर्तीले भने । दश स्थानीय तहलाई वरावर भागवण्डा गर्ने पूर्व एमालेको अडान रहे पनि पूर्व माओवादीले पार्टीको आधार ईलाका भएका कारण सहजै नेतृत्व दिन तयार नभएका कारण सहमतिमा पुग्न ढिलाई भएको वताईन्छ ।

स्थानीय तह एकता कार्यदलमा पूर्व माओवादी केन्द्रवाट सुरेन्द्र थापा र आशवहादुर पुन रहेका छन भने पूर्व एमालेवाट हरिप्रसाद घर्ती र कुमार दशौदी सदस्य रहेका छन । थापालाई एकीकृत पार्टीको जिल्ला अध्यक्ष तोकिएको छ । नेतृत्व वारे भएको सहमति संगै अव स्थानीय तहको एकताले मुर्त रुप लिन्छ कार्यदल सदस्य घर्तीले भने ।