सशस्त्र प्रहरी मुलुककालागि अपरिहार्य: गृहमन्त्री

0
Shares

काठमाडौ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले आइतबार प्रतिष्ठानमा आयोजित तालिमको दीक्षान्त कवाजमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक डम्बरबहादुर क्षेत्रीलाई खुकुरी प्रदान गर्नुभयो ।

सोही अवसरमा उहाँले सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक सन्दिप भट्टलाई समेत खुकुरी प्रदान गर्नुभयो ।

उक्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुले गृहमन्त्री थापाको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेका थिए ।

गृहमन्त्री थापाले सो अवसरमा दिक्षीत भई जाने प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा सदैव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बलका राष्ट्र सेवकहरुले त्याग, परिश्रम र बीरताको प्रदर्शन गर्दै संगठनलाई देशको महत्वपूर्ण सुरक्षा संयन्त्रको रुपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै दायित्व निर्वाहका क्रममा जीवनको उत्सर्ग गरेका बीर सशस्त्र प्रहरी कर्मचारीको बलिदानको स्मरण गर्नुहुँदै घाईते तथा अंगभंग भएका राष्ट्रसेवकहरुको स्थास्थ्यलाभको कामना गर्नुभयो ।

गृहमन्त्री थापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, सशस्त्र समुहहरुको गतिविधि नियन्त्रण, औद्योगिक सुरक्षा तथा राजस्व चुहावट नियन्त्रण, विपद उद्वार, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, हुल तथा दंथा व्यवस्थापन लगायतका नेपाल सरकारद्वारा प्रदान गरिएको कार्यादेशहरुमा सशस्त्र प्रहरी बल नेपालले प्रदर्शन गरेको भूमिकाको मुग्दकण्ठले प्रशंसा गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देशका विभिन्न भागहरुमा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत विपदमा उद्वार कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गर्दै प्रभावकारी ढंगले परिचालित भएर संगठनले परिणाममुखी कार्य सम्पादन गर्दै आईरहेको बताउनुभयो । उहाँले राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा खटिदा सधैं जिम्मेवार भई व्यावसायिकतालाई हृदयंगम गरी व्यक्तिगत स्वार्थलाई थाति राखेर सदैव सेवाभावकासाथ देश र जनताको सेवा र सुरक्षामा समर्पित रहिरहनुपर्ने बताउनुभयो ।

उहांले संगठनको स्थापनाकाल देखि राष्ट्र र जनताका खातिर संगठनका राष्ट्र सेवकले शान्ति सुरक्षा तथा सुशासन कायम राख्न जिम्मेवारी निर्वाह गर्दा गर्दै अमरत्व प्राप्त गरेको इतिहास साक्षी रहेको बताउदै राष्ट्रिय अखण्डता र जनताकालागि संगठन अहोरात्र खटेर लाग्ने बताउनुभयो ।

उहांले राष्ट्रले चाहेजस्तो बलियो संगठन निर्माण गर्न र ऐन प्रदत्त जिम्मेवारी पुरा गर्न संगठनलाई थप जनशक्ति तथा अत्याधुनिक हातहतियार, गोली गट्टा र भौतिक पूर्वाधारकालागि मुलुकका बिभिन्न स्थानमा जग्गा उपलब्ध भए जस्तोसुकै परिस्थितीको समाना गर्न संगठन तयार रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले दीक्षित अधिकृतहरुलाई आगामी दिनमा कार्यक्षेत्रमा खटिदा सम्पूर्ण नागरिकलाई नै आफ्नो परिवारका सदस्य सम्झिएर सोही भावकासाथ सेवा र सुरक्षामा तन, मन र वचनकासाथ प्रस्तुत भई उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

सुरक्षाकर्मीहरुले सदैव राष्ट्र र जनताका लागि आफ्नो सम्पूर्ण सुख सुविधाहरुलाई त्यागेर जिम्मेवारी निर्वाह गर्दै देश र जनताले सधैं गर्व गर्ने सच्चा सुरक्षाकर्मी बन्न सक्नुपर्ने चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आर्थिक विकास र समृद्धिका लागि सु–व्यवस्था र सुशासनयुक्त वातावरण निर्माण गर्ने नेपाल सरकार गृहमन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना तथा निर्देशनहरु परिपालना गर्दै शान्तिसुरक्षाका लागि अहोरात्र खटिईरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्य तथा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुलाई समयानुकुल र बैज्ञानिक ढंगले प्रशिक्षण प्रदान गरि योग्य अधिकृत निर्माणमा जोड दिइएको बताउनुहुँदै व्यावसायिक सिप, दक्षता र नेतृत्व क्षमता विकासमा यस्ता आधारभूत तालिमको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्नुभयो ।

उहाँले आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नु कठिन कार्य भएको स्मरण गर्नुहँुदै तालिम संचालनमा सहयोग र सहकार्यका लागि नेपाल सरकार गृहमन्त्रालय तथा अन्य विभिन्न निकायहरु प्रति आभार प्रकट गर्नुभयो ।
सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा ३ जना महिलासहित कुल ५४ जना तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा १ जना महिलासहित कूल १० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।