जनप्रतिनिधी आएपछी पहिलो सार्वजनिक सुनुवाई, स्थानीयबासिन्दा आक्रोषित

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
हरेक ३/३ महिनामा सार्वजनि सुनुवाई गर्नुपर्ने भएपनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधी आएपछी पहिलो सार्वजनिक सुनुवाई शनिवार गरेको छ ।

बैतडीको पाटन नगरपालिकाले गत आर्थिक बर्षमा ५३१ ओटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाएको छ ।

५१ ओटा नगरस्तरीय,३३१ ओटा वडा स्तरीय र १०३ ओटा सशर्त तर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आर्थिक बर्षमा नगरपालिकाले ४८ करोड ५९ लाख १२ हजार ७४ रुपैया विनियोजन गरेको थियो ।

नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर ६८ ओटा सडक सहित भौतिक पूर्वाधार तर्फ ५ करोड १५ लाख बजेट खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईका सहभागीहरुले टुक्रे योजनाका कारण विकासको कामले गति नलिएको गुनासो गरेका छन् । धेरै ठाउँमा कार्यकर्तामुखी बजेट भएको समेत उनीहरुले आरोप लगाएका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरप्रमुख केशवबहादुर चन्दले कतिपय अधिकारहरु अझै स्थानीय तहमा आउन नसकेकाले सोचे अनुसार काम गर्न नसकेको बताए । नगरपालिकाले नगरलाई समृद्ध बनाउनका लागि पहल गरिरहेको समेत उनको भनाई छ ।

यस्तै गत आर्थिक बर्षको बजेटमा ३ करोड ३५ लाख बढी बेरुजु देखिएको छ । नगरपालिकाको बेरुजु रकमप्रति पनि सुनुवाईका सहभागीहरुले असन्तुष्टी जनाएका छन् ।

नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ६ करोड ८२ लाख २२ हजार रुपैया खर्च भएको जनाएको छ । यसमा चालु तर्फ ६ करोड ५० लाख ७३ हजार ६ सय ६६ र पूँजीगत तर्फ ३१ लाख ४८ हजार ४३२ खर्च भएको छ । चालु आर्थिक बर्षमा नगरसभाले ४५० ओटा योजना छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिए ।
नगरसभाले चालु आर्थिक बर्षमा ४६ करोड ६३ लाख १६ हजार बजेट विनियोजन गरेको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई नेपाल पत्रकार महासंघले सहजीकरण गरेको थियो ।

नगरबासी आक्रोसित

आर्थिक बर्ष २०७४/०७५मा सम्पन्न भएका योजनाहरुको सार्वजनिक सुनुवाई बैतडीको पाटन नगरपालिकामा शनिवार अर्थात दोश्रो आर्थिक बर्षको पनि पहिलो चौमासिक सकिएपछि सम्पन्न गरेको छ ।

ढिलो सार्वजनिक सुनुवाई गरिएको भनि नागरिक आक्रोषित थिए । नगरपालिकाको निति तथा कार्यक्रममा समेटिएका कुराहरु कागजमै सिमित भएको धेरैले गुनासो गरेका छन् । पाटन ६का चमन कुमार भण्डारी भन्छन् ‘हाम्रो नगरपालिकामा प्रसस्त कामहरु नागरिकलाई झुक्याउने तवरले भएकाछन्, जनगुनासो बढि आँउछ भनेरनै आज सम्म सार्वजनिक सुनुवाई नभएको हो, आज भयो, यो पनि प्रक्रिया मात्रै पुरा गर्ने तवरले भएकोछ, नगरपालिकामा जनप्रतिनिधि आएपछिको कामप्रति हामी नगरबासि सन्तुष्ट छैनौँ ,।

पाटन नगर कार्यापालिकाले बनाएका निति तथा कार्यक्रम कार्यान्वयन नभएको पाटन ८का हरिश बिष्टले बताए । उनले भने,यो बर्षलाई नगरपालिकाले शैक्षिक बर्ष घोषणा गरेको थियो तर काम केहि गरेन, नियमित बिद्यालय अनुगमन, नगरभित्रका बिद्यालयहरुमा हरेक २महिनामा परिक्षा सञ्चालन, परिक्षाको पेपर नगरपालिका आफैले तयार गर्ने, परिक्षाफल नगरपालिकामा बुझाउनुपर्ने, त्यसको मुल्यांकन गरि बिद्यालयलाई पुरुष्कत तथा अपग्रेड गर्ने लगायतका नितिहरु बनायो तर अहिले सम्म केहिपनि कार्यान्वयन भएनन्, शिक्षामा मात्रै नभई हरेक काममा यस्तै लापरवाहि भैरहकाले अबदेखि यस्तो नगर्न उनले सुझाव दिए ।

पाटन नगरपालिकाको आर्थिक बर्ष २०७४,०७५को बजेटमा ३करोड बढि रकम बेरुजु भएको पाइएको छ । रकम खर्च गर्दा अनियमितता भएको भन्दै यसप्रति पनि नागरिकले गुनासो गरेकाछन् । उनिहरुले सरकारको नितिका आधारमा हरेक ३महिनामा सार्वजनिक सुनुवाई गरि नगरपालिकाका कामहरु बारे नागरिकलाई जानकारी गराउन आग्रह गरे ।

प्रमुख केशब बहादुर चन्दले भने बिगतमा बिभिन्न समस्या र ब्यस्तताका कारण केहि कामहरु समयमै पुरा हुन नसकेपनि आगामी दिनमा भने सबै कार्यक्रम समयमै सम्पन्न गर्ने बताए । उनले नागरिकको गुनासो आउनु आफुहरुका लागी राम्रो भएको पक्ष भएको भन्दै आगामी दिनमा ढिलाई नहुँने बताए ।