४२ प्रतिशत जमिन बाँझो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले युवा जनशक्ति विदेशिँदा नेपालको उर्वर भँमि बाँझो हुन पुगेको बताउनु भएको छ ।
दुई जिल्लामा गरिएको अध्ययनबाट कुल जमिनको ४२ प्रतिशत जमिन बाँझो देखिएको भन्दै त्यसको मुख्य कारण वैदेशिक रोजगारी रहेको मन्त्री खनालको भनाइ छ । काभ्रेको पात्लेखोलामा रामबहादुर गौतमले सञ्चालन गरेको गाई र तरकारी फार्मको अवलोकनपछिको कार्यक्रममा बोल्दै मन्त्री खनालले रोजगारीको सिलसिलामा मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समँहका २८ देखि ३० लाख युवा विदेशिँदा त्यसको असर कृषि क्षेत्रमा परेको बताउनुभयो ।

रोगजारी सिर्जना र आयआर्जमा कृषि सबैभन्दा राम्रो माध्यम हुँदाहुँदै पनि कृषि प्राथमिकतामा पर्न नसके भन्दै उहाँले गुनासो गर्नुभयो ।

अहिले १ सय ३५ अर्बको खाद्यान्न आयात हुँदा अलैंची, चिया कफी, अदुवा र केही मात्रामा गोलभेंडा गरी जम्मा १२ अर्बको निर्यात भएको जानकारी उहाँले दिनुभयो । खेती गरेर पनि फाइदा हुन सक्छ भन्ने निक्कै सानो हिस्सा रहेको र केही गर्छौं भन्नेहरुसँग श्रम, प्रविधि, जमिनको अभाव रहेकाले कृषकमा निरासा छाएको मन्त्री खनालले बताउनुभयो ।

त्यस्ता किसानका लागि अनुदान, तालिम, आधुकिन औजार दिएर कृषिलाई माथि उठाउनु पर्ने उहाँको भनाइ छ ।

मन्त्रालयसँग बजेट थोरै भएर पनि खर्च हुन नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । विगतमा वितरण गरिएको अनुदान खास किसानको नपुगेको छानविनबाट पुष्टि भएको भन्दै त्यसलाई व्यवस्थित गरिने उहाँको भनाइ छ । अनुदानका बारेमा अध्ययन गर्न बनेको समितिले केही दिनमै अन्तिम प्रतिवेदन सार्वजनिक गर्दैछ । त्यस्तै उहाँले चितवन, पोखरा र विराटनगरमा रहेका दुग्ध कारखाना सञ्चान गर्न सके एक किलो पाउडर दँध पनि आयात गर्न नपर्ने भन्दै छिट्टै सञ्चालन गरिने बताउनुभयो ।