शोक मनाउन स्थानीय तह बन्द गर्ने निर्णय

0
Shares

शिवहरिप्रसाद भट्टराई, राजविराज
शुक्रवार राती तिर्थयात्री वोकेको वस दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शोक मनाउन आईतवार सप्तरीका सवै स्थानीय तह वन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको शनिवार विहान राजविराजमा सम्पन्न वैठकले शोक मनाउन स्थानीय तहका कार्यालय एक दिन वन्द गर्ने निर्णय भएको समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिए । सप्तरीमा ९ नगरपालिका सहित १८ वटा स्थानीय तह छन् ।

सोहि वैठकमा डाकनेश्वरी नगरपालिकाले मृतकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार २५ हजार उपलब्ध गराउने निर्णय भएको छ । यसका अतिरिक्त घाईतेको उपचारमा समेत नगरपालिकाले सहयोग गरिरहेको मेयर शिवनारायण साहले वताए ।

यसैगरी, मृतक र घाईतेको सहयोगका लागि स्थानीयहरुले करिव ४५ हजार चन्दा संकलन गरेको स्थानीय वैजु जोशीले वताए ।

सुनसरीको वराह क्षेर र चतराधाम दर्शन गरेर फर्किने क्रममा को१ख २७९९ नम्बरको बस सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवा चौक नजिकै दुर्घटना भएको थियो । वस पोखरीमा पल्टिदा डाकनेश्वरी नगरपालिका ५ भुतहीका ५५ वर्षिय दिनेश रजक र ५० वर्षिय बउकिदेवी रजक, ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह र ६० वर्षिया भुखनीदेवी यादवको मृत्यु भएको थियो ।

३ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले वताए ।

६७ जना यात्रुसवार वस दुर्घटनाका घाईतेहरु मध्ये ११ जनाको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, ३ जनाको बिराटनगर स्थित न्युरो अस्पताल र ३४ जनाको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भैरहेको छ। विराटनगरमा उपचाररत ३ जनाको अवस्था चिन्ताजनक रहेको डाकनेश्वरी नगरपालिकाका मेयर साहले वताए । दुर्घटनापछि वसका चालक फरार रहेकाले खोजी भईरहेको छ ।