अपाङ्गता भएका किशोरीलाई बुटिक तालिम

0
Shares

सीताराम चौधरी, कपिलवस्तु
अपांगता भएका किशोरीहरुको सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन कपिलवस्तुको चन्द्रौटामा बुटिक तालिम संचालन भएको छ ।
शिवराज नगर स्तरीय अपांगता पुनःस्थापना समितिको आयोजनामा अपांगता भएका किशोरीहरुलाई लक्षित गरी तालिम संचालन गरिएको हो । ‘विभेद रहित समाजको परिकल्पना’ भन्ने नारालाई साकार पार्न अपांगता भएका किशोरीहरुका लागि तालिम संचालन गरिएको अपांगता पुनस्र्थापना समितिका शिवराज नगरअध्यक्ष दिपक खडकाले बताउनुभएको छ ।

तालिमलाई एक समारोहबीच समुद्घाटन गर्दै प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले अपांगता भएका किशोरीहरुले मनोबल कमजोर नगराउन आग्रह गर्नुभयो । विदेशमा अपांगता भएका व्यक्तिहरुले संसार परिवर्तनमा ठूलो भूमिका खेलेको उदाहरणहरु दिंदै प्रदेशसभा सदस्य के.सी.ले आत्मनिर्भर बन्न आत्मबल बढाउन तालिमका किशोरीहरुलाई अनुरोध गर्नुभयो । अवसरका अभावले अपांगता भएका व्यक्तिहरु पछाडि परेको औल्याउँदै प्रदेशसभा सदस्य के.सी.ले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने उहाँले जोड दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिलाई एकजुट गराएर आत्मनिर्भर बनाउन शिवराज नगरपालिकाले पनि पहल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भने– “बुटिक बनाउने तालिमले आत्भनिर्भर बनाउने छ । तालिम अवधि मात्र होइन यस तालिमपछि व्यवहारमा उतार्न सकेमा मात्र तालिमले सार्थकता पाउने छ ।” प्रदेश स्तरमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै कार्यक्रमहरु रहेकोले कपिलवस्तु जिल्लासँगै प्रदेशमै यस्ता आयआर्जन गर्न सकिने तालिम आयोजना गर्न पहल गर्ने के.सी.ले प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले तालिमलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । नगरपालिकाले गतवर्ष पनि कार्यक्रम राखेको र यसवर्ष पनि कार्यक्रम राखेको जनाउँदै तालिम पश्चात आयआर्जनको स्रोत बनाउनुपर्नेमा नगर उपप्रमुख थारुले जोड दिनुभयो ।

अपाङ्ग महासंघ पश्चिमाञ्चलकी पूर्वअध्यक्ष कल्पना ढकालले देशमा १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण भएको जानकारी दिनुभयो । समाज परिर्वतन आफैबाट सुरुवात गर्नुपर्ने जनाउँदै ढकालले तालिम संचालन गरेकोमा अपांगता पुनस्र्थापना नगर समितिप्रति आभार प्रकट गर्नुभयो ।

किर्डाक नेपालका जिल्ला कार्यक्रम संयोजक हरिप्रसाद लौडारी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णुप्रसाद खतिवडा, सामाजिक विकास मञ्चका उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, जेसिज शिवराज नगर अध्यक्ष सरोज पौडेल, शिवराज नगरपालिका कानुनी सल्लाहकार शरद अधिकारीले तालिम सफलताको शुभकामना दिएका थिए ।

किर्डाक नेपाल र शिवराज नगरपालिका सहयोग रहेको तालिममा १० जनाको सहभागिता रहेको छ । जसमा ७ जना अपांगता भएका किशोरीहरुको सहभागिता रहेको छ । तालिम २ महिनासम्म चल्ने आयोजक संस्था अपांगता पुनस्र्थापना समिति नगरअध्यक्ष दिपक खडकाले बताउनुभयो । दुई महिने तालिमको प्रशिक्षक लोकमाया नेपाली रहेको आयोजक संस्थाले जनाएको छ ।