महाशिला गाउँपालिकाको अभियान, ब्याचको सट्टा पीपलको पात !

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
नयाँनयाँ अभियान र कार्यक्रमका कारण चर्चामा रहेको पर्वतको महाशिला गाउँपालिकाले फेरी अर्को नौलो अभियान शुरु गरेको छ ।

गाउँपालिका भित्र हुने कार्यक्रममा अतिथिलाई रंगिचंगी ब्याचको ठाउँमा पिपलको हरियो पात प्रयोग गर्ने अभियान शुरु गरेको छ । ब्याच र खादामा ठुलो रकम खर्च हुने तर छोटो समयमा नै उपयोग सकिने भएकाले आर्थिक, धार्मिक र पर्यावरणीय फाइदाका लागि पिपलको पात प्रयोग गर्न थालेको हो ।

मेसिनमा सिलाएर गोलाकार मुजा पारिएको रिबनले घेरिएको कागजको सुन्दर ब्याच भन्दा पिपलको पात प्रयोग गर्ने निर्णय गाउँपालिकाले केही महिना पहिले गरेको थियो । ‘गाउँपालिका भित्र हुने औपचारिक कार्यक्रममा महंगा खादा र ब्याचको प्रयोग नगर्ने प्रचलन सुरु गरेका छौँ’ गाउँपालिका प्रमुख राजुप्रसाद पौडेलले भने, ‘यस्तो निर्णय गर्नुका पछाडि आर्थिक, धार्मिक र वातावरणीय कारण छौ’ । महत्वपूर्ण धार्मिक कर्ममा अनिवार्य रुपमा पिपल प्रयोग हुने गरेकोले पनि यसको धार्मिक तथा आर्युेबेदमा औषधीको रुपमा प्रयोग गरिने भएकाले स्वास्थ्यका हिसाबले पनि महत्वपुर्ण भएको उनको भनाई छ ।

अर्कोतर्फ आर्थिक कारणले पनि पिपलको पातको ब्याचको प्रयोग महत्वपूर्ण देखिएपछि गाउँपालिकाले यसलाई प्रयोग गर्न थालेको गाउँपालिकाका प्रबक्ता जीवन उचै ठकुरीले बताए । एउटा कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथि सबै गरी बढीमा एक दर्जनजति अतिथि हुन्छन् । कागजको बनाउने हो भने एउटा ब्याचका लागि कम्तिमा डेढ सयदेखि १ हजारसम्म पर्ने जानकारहरु बताउँछन्। । तर पचास रुपैयाँमा कम्प्युटर प्रिन्ट गरि पिपलको पातमा टास्ने हो भने सबै अतिथिलाई त्यसले पुग्ने देखिएको उचैले बताए ।

‘आकर्षक ब्याच बनाउँदा लाग्ने खर्च यसले हटाईदिएको छ’
महासिला गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा अध्यक्षजस्तो ‘हाइप्रोफाइल’ अतिथिको छातीमा पनि पिपलको पातको ब्याच टाँसिएपछि त्यसको सबैतिर चर्चा भैरहेको छ ।

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयको ‘१८ महिने बाली विज्ञान तथा कम्युटर कक्षा शुभारम्भ तथा कम्युटर शिक्षा कक्ष हस्तान्तरण कार्यक्रममा’ निम्त्याइएका अतिथिहरुलाई विद्यालयले सबै पिपलका हरियो पातको ब्याच लगाईदिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, प्रतिनिधिसभाका सदस्य पदम गिरी, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल सहित सबैलाई साधारण कागजमा ‘अतिथि’ लेखिएको स्टिकर टाँसिएको पिपलको पातको ब्याच लगाइदिएका थिए। रिवन–कागजको ब्याचमात्र होइन, अतिथिहरुको स्वागत र विदाईका लागि कपडाको खादा पनि प्रयोग नगर्ने निर्णय सो गाउँपालिकाले गरेको छ।