समाचारपत्रकर्मी बुढाथोकी सम्मानित

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर
एभरेष्ट मिसन डट कमको दोश्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा नेपाल समाचारपत्र दैनिकका संवाददाता पुष्कर बुढाथोकी समानित हुनुभएको छ । सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष समेत रहेका बुढाथोकी, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष उपेन्द्र केसी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), र एभरेष्ट मिसन डटकमकी व्यबस्थापन एवं राससकी फोटो ग्राफर भगवती थापा क्षेत्रीलाई एभरेष्ट मिसन डटकमलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्नुभयो ।

प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नेपाल मजदुर किसान पार्टीका नेताहरु विकास बिरोधी भएको बताउनु भएको छ । उहाँले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने बताउदै विकास विरोधी तत्वलाई परास्त गर्दै अगाडि बढेर भक्तपुरको विकासलाई अग्रस्थानमा ल्याउने दाबी गर्नुभयो ।

उहाँले ठूला राष्ट्रिय मिडियाले आफ्नो समाचार नराख्ने गरेको बताउँदै त्यसले कुनै फरक पर्दैन भन्दै उहाँले राष्ट्रिय मिडियाले लेखेको समाचार भन्दा फेसबुक प्रभावकारी माध्यम भएको जिकिर गर्नुभयो । संचार माध्यम र पत्रकारले समाज परिवर्तन हुनेगरि मिसन पत्रकारिता सुरु गरेर परिवर्तनको संवाहक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य मैना भण्डारीले देशको विकासलाई अगाडि बढाउने गरि विकास पत्रकारिता गर्नुपर्नेमा जोड दिदै संचार माध्यम निष्पक्ष भएर जान नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले संचार माध्यम निष्पक्ष भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।