प्रधानमन्त्रीद्वारा काममा केन्द्रित हुन मन्त्री र सचिवहरुलाई निर्देशन

0
Shares

काठमाडौ(नेस) । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिनुभएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि समिक्षा बैठकलाई शनिबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउदा जनताले सेवाको अनुभुती नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यन्वयनको अवस्थाको जानकारी लागि भएको बताउनुभएको छ ।

“यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यन्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रालयहरु केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यन्वयनको राम्रै सुरुवात भएको छ । तर यसलाई तीव्रता दिनु पर्दछ । ”

वर्तमान सरकार गहन जिम्मेवारी सहित सफल हुनै पर्ने भएकोले सबैले त्यसै अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । “सफल हुनका लागि सबै अवयवहरुलाई चुस्त बनाउनु पर्दछ । हरेक कुराको परिणाम देखिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भनुनभयो ।

प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिबलाई निर्देशन दिनुभएको छ । सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

समिक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेम कुमार राई,परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो । यसैगरी रक्षा सचिव बिष्णुप्रसाद लम्साल,संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का,कानुन , न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो ।

बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा.पुष्प कडेंलले पनि आफ्ना भनाइ राख्नु भएको थियो ।