डबल डिजिट नम्बर चढाउँदा समस्या, परीक्षा बोर्डद्वारा गल्ती स्वीकार

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डको सिङगल डिजिट लब्धाङपत्र प्रिन्ट गर्नुपर्नेमा डबल डिजिट नम्बर चढाउँदा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेका छन् ।

बोर्डको निर्देशनमा एक डिजिट नम्बर प्रिन्ट हुनुपर्ने उल्लेख छ । तर लब्धाङपत्र प्रिन्ट गर्दा दुई डिजिट देखिएको छ । दुई डिजिट नम्बर देखिएपछि विदेशी निकायले सो लब्धाङपत्र नक्कली भएको आशंका गर्दै विद्यार्थी फर्काउने गरेको छ । बोर्डका एक उच्च अधिकारीले लब्धाङपत्रमा देखिएको लापरबाहीले सयौँ विद्यार्थी समस्यामा परेको जानकारी दिँदै भने –‘लब्धाङपत्र प्रिन्ट गर्दा मनोमानी गरेकाले समस्या भएको हो ।’

तर बोर्डले विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई समस्या परेको जानकारी भएपछि लब्धाङपत्र सच्याइएको जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले यस्तो समस्या देखिएको स्विकार्दै भन्नुभयो–‘समस्या परेको हो, समाधान गर्ने गरेका छौँ ।’

बोर्डको मुख्यालयको सफ्टवेयरबाट लब्धाङपत्र तयार भएपछि देशैभर रहेका १० वटा कार्यालयबाट प्रिन्ट हुन्छ । करारमा रहेका एक जनामात्र इन्जिनियरले करिब १३ लाख विद्यार्थीको लब्धाङपत्र तयार गर्दा गम्भीर त्रुटी देखिएको हो ।

सरकारले जारी गरेको निर्देशनमा ए प्लस देखि इ सम्म ग्रेड ल्याउने विद्यार्थीका लागि सिङगल डिजिटको व्यवस्था गरेको छ । तर अधिकांस विद्यार्थीको डबल डिजिट आउने गरेको छ । समस्या देखिएपछि बोर्डमा जानकारी गराएका थियाँै–काठमाडौं कार्यालयका प्रमुख जयन्ती सत्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

बोर्डका अधिकारीका अनुसार यस्ता समस्या देशैभरका कार्यालयबाट आउने गरेका छन् । यस्तो गम्भीर विषयमा बोर्डले चासो देखाएको छैन । निर्देशनमा ९० देखि सय प्रतिशत ल्याउने विद्यार्थीलाइ ४ दशमलब शुन्य, ८० देखि ९० भन्दा कम प्रतिशत ल्याउने विद्यार्थीलाई ३ दशमलब ६, ७० देखि ८० भन्दा कम प्रतिशत ल्याउने विद्यार्थीलाई ३ दशमलब २, ६० देखि ७० भन्दा कम प्रतिशत ल्याउने विद्यार्थीलाई २ दशमलब ८, ५० देखि ६० भन्दा कम प्रतिशत ल्याउने विद्यार्थीलाई २ दशमलब ४ जिपिए दिने गरिएको छ । तर प्रिन्ट भएको लब्धाङक पत्रमा बोर्डको निर्णय विपरित डबल डिजिट आउने गरेको छ ।

प्रिन्ट गर्दा ४ दशमलब ६ हुनुपर्नेमा ४ दशमलब ६९ देखिएको छ । यसरी सिङगल डिजिट प्रिन्ट हुनुपर्नेमा डबल डिजिट भएपछि जिपिएमा शंका भएको बोर्डको भनाइ छ । बोर्डका अधिकारीका अनुसार करारमा काम गर्ने एक जना मात्र इन्जिनियरले सफ्टवेयर संचालन गर्दा समस्या परेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोर्डले तयार गरी मन्त्रालयमा पेश गरेको नियमावली पारित नगरिदिदा समस्या भएको हो । ‘नियमावली पास भएको भए स्थायी इन्जिनियरले काम गर्ने थिए, नियमावली पास भएको छैन, करारमा रहेका एक जनाको भरमा १३ लाख विद्यार्थीको मार्कसिट तयार गर्न बाध्य भएको छ ‘बोर्डका एक अधिकारीले नेपाल समाचारपत्रसंग भने ।

कक्षा ११ र १२ को परीक्षाको जिम्मा लिएको बोर्डले यो वर्षदेखि कक्षा १० को मार्कसिट प्रिन्ट गर्ने जिम्मा लिएको छ । कक्षा १० मा झण्डै ५ लाखको हाराहारीमा विद्यार्थी छन् । ११ र १२ मा करिब ८ लाख विद्यार्थी अध्ययनरत छ ।

अहिले देशैभरका कार्यालयबाट दैनिक झण्डै १ हजार ५ सयको हाराहारीमा मार्कसिट प्रिन्ट हुने गरेको छ । अधिकांस कार्यालयमा अहिले डबल डिजिटको समस्या आएको छ । बोर्डको कार्यालय रहेको काठमाडौ, पोखरा, विराटनगर, नेपालगंज, धनगढी, लाहान, हेटौडा, डडेल्धुरा र जनकपुरबाट लब्धाङपत्र प्रिन्ट हुन्छ ।

बोर्डले एसएलसी कार्यालयको सहित ३ जना इन्जिनियर रहेको जनाए पनि सबै विद्यार्थीको प्रमाणको सप्mटवेयर बनाउने एकजनामात्र करारका कर्मचारी छन् । गम्भीर विषयमा करारको कर्मचारी राखेर काम गर्दा बोर्डलाई समस्या परेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले ३ जना इन्जिनियर कार्यरत रहे पनि लब्धाङपत्र प्रिन्ट गर्न इन्जिनियर गोविन्द पौडेललाई मात्र जिम्मेवारी दिएको छ । बोर्डले लब्धाङपत्र प्रिन्ट गर्दा समस्या नभएको जिकीर गरे पनि दैनिक झण्डै सयभन्दा बढी लब्धाङपत्रमा दुई डिजिट आएर समस्या भएको छ ।