सरकार भ्रष्टाचारको चङ्गुलमा

0
Shares

काठमाडौं
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सरकार भ्रष्टाचारको चगुंलमा फसेको वताउनुभएको छ । नेकपाको पार्टी पुनर्गठन दिवसमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले समृद्धको नारा बोकेको सरकारले भ्रष्टाचारलाई मलजल गरेको आरोप लगाउनुभएको छ ।

उहाँले वर्तमान सरकारले दमन नरोके यो सरकारलाई जनताको जनअदालतमा उभ्याउने दावी गर्नुभयो । प्रवक्ता प्रकाण्डले भन्नुभयो– ‘हामीसँग जनसेना पनि छ । दलालको इसारामा ओली सरकारले हाम्रो पार्टीलाई दमन गरेको छ । यदि हामीविरुद्ध दमन रोकिएन भने यो सरकारलाई जनताको जनअदालतमा उभ्याउँछौं ।’

उहाँले प्रचण्डको नेतृत्वमा देखिएको विचलनका विरुद्ध लड्न पार्टी स्थापना गरेको उल्लेख गर्दै सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाउनुभयो ।

हिजो केही नभएका नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गर्नुभयो । फरक प्रसंगमा निर्मला पन्तको हत्यारालाई सरकारले अझै पक्रन नसकेको भन्दै नेकपाले कारबाही गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘१३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न सकेन । निर्मलाको हत्याको विरोधमा मंसिर १६ गते देशव्यापी विरोध कार्यक्रम गर्छांै ।’

यसैगरी नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले प्रचण्डले क्रान्तिका नाममा धोका दिएको वताउनुभयो । यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कम्युनिस्टलाई भ्रष्ट दलालहरुको एनजीओले चलाएको वताउनुभयो । उहाँले क्रान्ति उचाइमा पुगेको वेला नेतृत्वले धोका दिएको बताउनुभयो ।

जनसभा सुरु हुनुपूर्व लैनचौर, बबरमहल र कालीमाटीबाट ¥याली निकालिएको थियो । ¥याली प्रदर्शनीमार्ग पुगेर सभामा परिणत भएको थियो ।