हेटौंडा ।
हेटौंडा–९ शनिबारदेखि सडक मानवमुक्त घोषणा भएको छ । मानवसेवा आश्रम केन्द्रीय कार्यालय रहेको उक्त वडाका सडकमा सहयोगापेक्षी मानव नरहेको घोषणा गरिएको हो । प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले वडालाई सडक मानवमुक्त घोषणा गर्नुभएको हो ।
वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले वडाका सडकमा सहयोगापेक्षी मानव नभएको र आगामी दिनमा त्यस्ता मानव फेलापरे तत्काल व्यबस्थापन गरिने प्रतिवद्धता जनाउनुभयो । घोषणा कार्यक्रमअघि पञ्चैबाजा, खैंजडीबाजा, भजनलगायतको शान्ति पैदलयात्रा भएको थियो ।
मानवसेवा आश्रमले ७ वर्षभित्र नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त देश घोषणा गर्न तयारी गरेको छ । उक्त अभियानको सिलसिलामा हेटौंडा–९ लाई घोषणा गरिएको मानवसेवा आश्रमका संयोजक रामजी न्यौपानेले बताउनुभयो ।
विभिन्न कारणबाट परिवार र आफन्तबाट परित्यक्त शारीरिक, मानसिक तथा अन्य कारणबाट विशेष अबस्थामा रहेका मानिसलाई आफ्नो जीवन स्वयम् आफ्नै प्रयासमा सुरक्षित राख्न कठिन हुने देखिएपछि सहयोग थालनी गरिएको हो ।
आफूले आफ्नो लागि केही गर्न नसक्ने र आफ्नो भरणपोषणका लागि सहयोग गर्ने परिवारका अन्य सदस्यसमेत नभएर सडकपेटी एवम् सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्न विवश भएको अबस्थामा त्यस्ता सहयोगापेक्षी नागरिकको बाँच्न पाउने संवैधानिक मौलिकअधिकार संरक्षण गर्र्नु राज्यको महत्वपूर्ण दायित्व हुने न्यौपाने बताउनुहुन्छ ।
सहयोगापेक्षी मानवको उद्धार, औषधोपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन, परिवार नभेटिएका सहयोगापेक्षी मानवको लौरीस्वरुप सहारा बनेर उनीहरुको व्यबस्थापनका लागि २०६९ सालमा हेटौंडाबाट शुरु भएर ११ जिल्लामा १४ स्थानमा आश्रमले सेवा सञ्चालन गरिरहेको छ ।











प्रतिक्रिया