काठमाडौँ भन्दा सस्तोमा अब विराटनगरबाट माउन्टेन फ्लाईट

0
Shares

सरोज यादव, विराटनगर ।
आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट शनिवारबाट व्यावसायिक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सुरु भएको छ । प्रदेश नं १ को अस्थायी राजधानी रहेको विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पल्ट व्यवसायिक रुपमा माउन्टेन फ्लाईट सुरु गरिएको हो ।

विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिवारबाट शुरु गरिएको माउन्टेन फ्लाईटमा प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु प्रदेश सरकारका प्रमुख सचिव,त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु,पर्यटन व्यावसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरुको अवलोकन गरेका छन् ।

यति एयरलाइन्सको सि आरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाईट गरेको हो । विशेष भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाण्डौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाईटको साप्ताहिक उडान गरिने योजना रहेको छ । पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाईट गराईने छ ।

विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाईटका लागि यति एयरलाइन्ससँगको साझेदारी गरिएको छ । यति एयरलाइन्सलाई कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाईट लागि प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ । विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सयमा माउन्टेन फ्लाईट भर्ने पाउनेछन । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाईट काठमाण्डौ भन्दा सस्तो हो ।

काडमाडांैबाट माउन्टेन फ्लाईटका लागि प्रति यात्रु ११ हजार ६ सय ३५ रुपैया तिर्नुपर्ने हुन्छ । विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाईटको उडानमा सरिक भएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशको बिकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेकाले माउन्टेन फ्लाईट सुरु हुनुले वाह्य र आन्तरिक पर्यटन भित्राउन कोशेढुङा सावित हुने बताए । प्रदेश १ का पर्यटनमन्त्री जगदिश कुशियतले माउन्टेन फ्लाईटलाई निरन्तरता दिन प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

पर्यटन बिकासका माध्यमवाट प्रदेशलाई समृद्धि बनाउन सरकार जुनसुकै सहयोग गर्न तयार रहेको पनि जानकारी दिए । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाईटमा पर्यटकले प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखलाको अवलोकन गर्न पाउनेछन् । प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिनेछ ।