न्यादी जलविद्युत्को हेडरेस टनेल ब्रेक थ्रु

0
Shares

नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको हेडरेस टनेलको ब्रेक थु्र भएको छ। यससँगै आयोजनाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।

लमजुङको उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडा र वडानं ७ को भुलभुले बीचमा बहने ङादी खोलामा सो आयोजना निर्माण हुँदै छ।

आयोजनाको ३ हजार ८ सय ४० मिटरको मुख्य शुरूङ छेड्ने काम सकिएको प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका प्रोजेट म्यानेजर उत्तम अमात्यले मुख्य शुरूङको निर्माण कार्य पूरा भएको बताउनुभयो। उहाँका अनुसार शुरूङ बाहेक आयोजनाको अन्य निर्माण पक्षको पनि काम धमाधम भइरहेको छ। आयोजनाको कुल कार्यको ५० प्रतिशत सकिएको अमात्यको भनाइ छ। आयोजनाको निर्माण चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ। सो आयोजनाको विद्युत् गृहमा २ वटा पेल्टन टर्वाइन राखिनेछ। त्यसको ३० प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार ७ सय २५ मिटर पेनस्टक पाइप राखिनेछ, त्यसमध्ये ६८ मिटर खनिएको छ।

विद्युत् गृहको फाउन्डेसन सकिएको छ। ३ सय मिटर दूरीको अडिट टनेलको १५५ मिटर निर्माण भएको छ। त्यसैगरी ३ सय मिटरकै दूरीको डाईभर्सन टनेलको निर्माण कार्य सम्पन्न भएको छ। पेनस्टक सपोर्ट कार्य निर्माण भईसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार बाँध क्षेत्रमा ढलानको काम भइरहेको छ। त्यस बाहेक पेनस्टकको स्टिल प्लेट आयोजनाको निर्माण स्थलमा ल्याइएको र जडान कार्य भइरहेको र सर्ज ट्यांकको निर्माण कार्य पूरा भएको छ।

यसैगरी बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। निर्माणधीन ३० मेगावाटको आयोजनाको सम्पूर्ण निर्माण कार्य सन् २०२० अप्रिलमा सम्पन्न गरी बिजुली बाल्ने लक्ष्यका साथ काम भइरहेको प्रोजेक्ट म्यानेजर अमात्यले जानकारी दिनुभयो।

आयोजनाको निर्माण कार्य तीव्र गतिमा २४सैं घण्टा काम भइरहेकाले समयमै निर्माण सकिने अमात्य बताउनु हुन्छ। उहाँले भन्नुभयो–‘आयोजनाको निर्माण कार्य हामी समयमै सक्छौं’। उहाँका अनुसार शुरूमा ४ अर्ब ३८ करोड रुपियाँमा निर्माण हुने भने पनि व्याजसहित ६ अरब पुग्ने अनुमान गरिएको छ। आयोजनामा बुटवल पावर कम्पनीको ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको २ दशमलव ७८ प्रतिशत लगानी रहने अमात्यले जानकारी दिनुभयो।

उहाँका अनुसार आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको ऋण लगानी रहेको छ। आयोजनाले मस्र्याङ्दी गाउँपालिका– ३ खुदी टारीकुनासम्म १३२ केभीको साढे ५ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने कार्य थालिसकेको अमात्यले बताउनुभयो। त्यस्तै नेपाल विद्युत् प्राधिकरणवाट खुदीको टारीकुनामा निर्माण हुने २२० केभी सवस्टेसन तथा प्रसारण लाइनको निर्माण कार्य गर्न टेन्डर भइसकेको छ। न्यादी जलविद्युत् आयोजनाले वैकल्पिक थप प्रसारण लाइन समेत निर्माण गर्ने बारे नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव पेस गरिसकेको प्रशासकीय अधिृकत बासुदेव गर्तौलाले बताउनुभयो।

उहाँका अनुसार नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपियाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपियाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ।