योगदानमा आधारित सामाजिक सुरक्षा योजना अर्को सातादेखि

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सरकारले सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने योगदानमा आधारित सामाजिक सुरक्षा योजना (स्किम) मंसिर ११ बाट लागू गर्ने भएको छ।

रोजगारदाता र योगदानकर्ताको सूचीकरणसम्बन्धी सूचना कार्तिक, २६ गते राजपत्रमा प्रकाशन भइसकेको पनि जनाएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपालभर लागू हुनेछ। यो योजना कार्यान्वयनमा आए पश्चात् पहिलो चरणमा प्रतिष्ठान स्तरका श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरण भई सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किम अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन्।

संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सोको कार्यान्वयनका लागि सरकारले सामाजिक सुरक्षा योजना (स्किम) ल्याएको हो।योगदानमा आधारित सामाजिक सुरक्षा योजना तीन महिनाभित्र सरकारले कार्यान्वयन गर्ने योजना बनाएको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिनुभयो।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा आइसकेको छ भने संस्थागत पूर्वाधारको रुपमा सामाजिक सुरक्षा कोष २०६७ मा स्थापना भई सञ्चालनमा रहेको छ।

कोषबाट सञ्चालन हुने स्किममा समावेश हुन औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि छ महिना योगदान गर्नुपर्ने र मातृत्व सुरक्षा योजनाका लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गर्नुपर्ने हुन्छ। श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको सुविधा योगदान गरेको मितिबाट प्राप्त गर्ने व्यवस्था रहेको छ। त्यस्तै रोजगारीजन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च स्किममा समावेश भएको छ। तर, व्यवसायजन्य रोगको उपचार गर्न दुई वर्षसम्म योगदान गरेको हुनुपर्छ। रोजगारजन्य दुर्घटनाबाहेक अन्य दुर्घटना भएको अवस्थामा सात लाख रुपियाँसम्मको उपचार खर्च स्किमबाट प्राप्त हुनेछ।

प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य बीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा कोषको स्किमबाट त्यस्तो सुविधा प्राप्त हुने छैन।

योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई प्राप्त हुने सुविधाअन्तर्गत निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले मासिक रुपमा जीवित रहेसम्म निवृत्तिभरण (पेन्सन) र निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिलाई १८ वर्षको उमेरसम्म ४० प्रतिशत सन्तति शैक्षिक वृत्ति पाउने व्यवस्था छ।

यसैगरी योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोराछोरी कोही पनि नभएको अवस्थामा निजको आश्रित बाबुआमालाई मासिक रुपमा ६० प्रतिशत रकम जिवित रहेसम्म प्रदान गर्ने व्यवस्था स्किममा समावेश गरिएको छ। योगदानकर्ताको अवकाशपछि प्राप्त हुने गरी वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता जिवित रहेसम्म निवृत्तिभरणको व्यवस्था समेत गरिएको छ।

सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनुपर्ने छ। सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभुत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्ने छ। यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनुपर्ने छ।

काठमाडौं उपत्यकाभित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताका लागि मंसिर ६ गतेबाट रोजगारदाताको सूचीकरण शुरू भइसकेको छ भने काठमाडौं उपत्यका बाहिर प्रदेश नं. ३ मंसिर १५ गतेबाट, प्रदेश नं. १ पुस १ गतेबाट, प्रदेश नं. २ पुस १५ गतेबाट, गण्डकी प्रदेश र प्रदेश नं. ५ माघ १ गतेबाट एवम् कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लागि माघ १५ गतेबाट सूचीकरण गर्ने व्यवस्था मिलाइएको छ।

रोजगारदाताले सूचीकरण भएको मितिले तीन महिनाभित्र योगदानकर्ता श्रमिकको सूचीकरण गरिसक्नुपर्नेछ। योगदानकर्ता सूचीकरण भएपश्चात् योगदान सकंलनको काम शुरू हुनेछ।