अष्ट्रलियामा धुलोयुक्त आँधीले जनजीवन प्रभावित


सिड्नी (एजेन्सी)
अष्ट्रलियाको दक्षिण पुर्वी क्षेत्रको मानव बस्ती इलाकामा विशाल धुलो युक्त आँधीले त्यहाँको जनजीवन प्रभावित भएकोे छ । दक्षिण पुवी अष्ट्रेलियाको आकास नै सुन्तला रङमा परिवर्तन भएपछि त्यहाँको वायु गुणस्तरलाई लिएर चिन्ता बढिरहेको छ ।

सरकारले सिड्नीका लागि सार्वजनिक चेतावनी जारी गरेको छ । ५ सय किलोमिटर फराकिलो उक्त धुलो आँधीका सहरमा प्रवेश गरेकोले उडानहरुमा ढिलाइ भएका छन् । न्युसाउथ वेल्सको धेरैजसो क्षेत्रमा धुलो युक्त आँधीका कारण वातावरण अत्यन्तै धमिलिएको बताइएको छ ।

शक्तिशाली हुरीले सुख्खा इलाकाबाट धुलो बोकेर आएको सरकारी अधिकारीहरुले बताए । गत अगस्ट देखि न्यु साउथ वेल्स पुरै राज्य सुख्खाग्रस्त हुनुले उक्त समस्या आएको अष्ट्रेलियाको ब्युरो अफ मेट्रोलोजीले जनाएकोछ ।
विहिबार दर्जनौ ब्यक्तीलाई स्वास लिनमा वा दमको समस्या भएको स्वास्थ्यकमीहरुले बताए । तर उक्त धुलोबाट प्रभावित संख्या तत्काल स्पष्ट हुन सकेको छैन ।

सिड्नीमा धुलोका कारण अध्यारो भएको र केही उपनगरमा वायुको गुणस्तर अत्यन्तै खतरनाक स्तरमा देखिएको जनाइएको छ । स्वास्थ्य अधिकारीहरुले स्थानिय विशेष गरी बच्चा, बृद्ध र स्वासप्रस्वास सम्बन्धी समस्या भएकाहरुलाई घर भित्रै बस्न आग्रह गरेका छन् ।

सिड्नीबाट करिब १ हजार १ सय किलोमिटर पश्चिममा पर्ने नगर ब्रोकन हिलका एक वासिन्दाले बुधबार कयौं घण्टासम्म धुलो उडिरहेको बताए । बाहिर हिँड्दा पनि आँखामा धुलो पस्ने र निस्कनै पनि गाह्रो महसुस भइरहेको उनले बताए ।
सिड्नीको यो धुलोयुक्त आँधीलाई सन् २००९ मा उक्त सहरलाई धपक्कै छोप्ने गरिआएको घटनासँग तुलना गरेको छ ।