बेलायत र इयुबीच मस्यौदामा सहमति


ब्रसेल्स (एजेन्सी)
युरोपेली संघ र बेलायत उनीहरुबीचको भावी सम्बन्धका विषयमा तयार पारिएको एक मस्यौदामा सहमत भएका छन् । यसले यसै सप्ताहन्तमा ब्रेक्सिट सहमतिलाई टुंगोमा पुर्याउने मार्ग प्रसस्त भएको छ ।

ब्यापार, सुरक्षा तथा अन्य मुद्दाले कसरी काम गर्छ भन्ने विषयमा तयार पारिएको उक्त राजनितिक घोषणापत्रमा ‘सिद्धान्तत सहमति ‘ भएको युरोपेली परिषदले जनाएको छ ।

लन्डन र ब्रसेल्सले सन् २०१९ मार्च २९ मा युरोपेली संघबाट बेलायत बाहिरिने सम्बन्धमा बनाइएको मस्यौदाका बुँदामा यसअघि नै सहमति भएको हो ।
बेलायतको प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटले मस्यौदा सहमतिका सम्बन्धमा कन्फरेन्स कलमार्फत मन्त्रीपरिषदको छोटो बैठक बसेको जानकारी दिएको छ । प्रधानमन्त्री टेरिजा मेले एक विज्ञप्ती जारी गर्ने तयारी भइरहेको पनि जनाइएको छ ।

गत हप्ता बेलायत र युरोपेली संघले ५ सय ८५ पृष्ठको फिर्ता हुने सहमतिमा सहमत भएका थिए । उक्त सहमतिमा अलगिनका लागि बेलायतले ३९ अर्ब डलर बुझाउनु पर्ने , ब्रेक्जिट पछिको नागरिक अधिकार र सबैभन्दा कठिन मानिएको उत्तर आयरल्यान्डसँगको मुद्दा, ब्यापार वार्ता रोकिएको अवस्थामा खुला सीमानाको ब्यवस्थापन, का विषयमा उल्लेख गरिएको छ ।