आहा ! राराःस्वर्गकी अप्सरा !

0
Shares

नानीराम नेपाल, रारा ।
‘काफल खान्या कुइँया मर्यो ला जुनकीरी सिसाकी गोलीले’
दैलेखको तल्लो डुंगेस्वर । झिसमिसेमै स्कुले बालबालिकाहरु गीत गाउँदै आए । मौलिक भाषा शैली र शव्दमा उनीहरुले र्दजनबढी भाका सुनाउँदा लाग्थ्यो, उनीहरु गीतमार्फत ‘कर्णालीका कथा’ सुनाइरहेका छन् । मुटु नै काँम्ने जाडोमा पुराना र मैलो कपडाभित्र मोरिएर भिसमिसेमै सडकमा गीत गाइरहेका दैलेखी बालबालिकाका मुहारमा अभावको खाडल प्रष्टै देखिन्थ्यो ।

र सँगै ‘सय–पचास’ कसैले दिन्छन् की भन्ने आशा पनि झल्कीन्थो उनीहरुका मुहारमा । स्कुले बालबालिकाले गीत गाउँदै पर्यटकहरुसँग पैसा मागिरहँदा कर्णालीवासीका बास्तविक अवस्था आँखैअगाडी घुम्नथाल्यो । स्थानीय अगुवाहरुका अनुसार डुंगेस्वरका होटल र लजमा नयाँ पाहुना आउनासाथ उनीहरु यसैगरि गीतमार्फत यसभेगको दुखको कथा सुनाउँछन् ।

‘काफल खान्या कुइयाँ, म¥यो ला जुनकीरी सिसाकी गोलीले’, यहि गीतबाट उनीहरुको दैनिकी सुरु हुन्छ । रारा रुटका यी स्कुले बालबालिकाको दैनिकी नै गीत गाएरै बित्दोरहेछ । ‘पाहुना बढ्या हुन् त स्कुल जान्नौं’, गाउनेमध्येका एक बालकले सुनाए । गीतका माध्यमबाट स्वागत सत्कार गरेबापत रारा घुम्न जाने पर्यटकहरुले उनीहरुलाई पैसा दिने गरेका छन् ।

आहा ! राराःस्वर्गकी अप्सरा !
काठमाडौबाट ८ सय ५५ किलोमीटर सडक छिचोलेपछि कर्णालीको मुटुु अर्थात मुगुको हुटुस्थित रारा तालमा पुगिन्छ । रारामा पहिलो नजर पुग्दा आकाश नै जमिनमा सुतिरहेझैं आभाष हुन्छ । चारैतिर हरियाली जंगलकाबीच फैलिएको राराको एकछेउबाट पल्लोछेउको भेउ पाउनै सकिँदैन । जानकारहरुका अनुसार रारालाई राजा महेन्द्रले कुनैबेला ‘स्वर्गकी अप्सरा’ को संज्ञा दिएर कविता लेखेका थिए ।

उच्च हिमाली भेग, पहाडका चौघेरामा फैलिएको स्वच्छ, निर्मल ताल । कर्णाली प्रदेशको मुगु जिल्लास्थित हुटुमा रहेको रारा तालले त्यहाँ पुग्ने जो कसैको पनि मन लोभ्याइदिन्छ । भनिन्छ पानीको रङ हुँदैन, तर राराको पानीले छिनछिनमै रङ बदल्दोरहेछ । ५.१ किलोमीटर लम्वाई र २.७ किलोमीटरको चौडाईमा फैलिएको यो ताल विभिन्न फरक प्रजातीका सर्प, भ्यागुता र चराचुरुङीको आश्रयस्थल पनि हो ।

देशकै ठूलो ताल काखैमा भएर पनि मुगुको हुटुले राराबाट अपेक्षित लाभ लिन सकेको छैन । राराछेउका दुई होटलहरुले प्रत्यक्षरुपमा तालबाट लाभ लिइरहँदा यसभेगका ९० प्रतिशत भन्दा बढि जनतालाई राराले छुन सकेको छैन । ताल आसपासकै क्षेत्रका जनताले लाभ लिन नपाइरहँदा सडक रुटका बजारकेन्द्रले भने राराको प्रत्यक्ष लाभ लिइरहेका छन् । रारा घुम्न जाने र फर्कनेहरुको ‘ट्रन्जिट’ मानिने दैलेखको डुंगेस्वर, कालिकोटको मान्मा, नाग्मा, र जुम्लाको सिंजा, गोठी ज्युला लगायतका बजारलाई राराले उठाइरहेको देखियो । पछिल्लो दुई वर्षयता रारामा पर्यटकहरुको घुइँचो लाग्न थालेपछि सडक रुटमा ब्यापार बढिरहेको होटल तथा होमस्टे संचालकहरु बताउँछन् ।

घोडाले पालेका मान्छे !
मान्छेले घोडा पाल्छन्– यो आम बुझाई हो । तर मुगु हुटुस्थित रारा तालको आसपासमा पुग्दा भान हुन्छ घोडाले मान्छे पनि पाल्दोरहेछ । रारा क्षेत्रमा यतिबेला घोडाको संख्या दुई सय पुगेको छ । रारा घुम्न आउने पर्यटकहरुलाई घोडा सयर गराएर घोडा व्यवसायीहरुले परिवार धानेका मात्र छैनन्, राम्रो आम्दानी पनि गरिरहेका छन् । पर्यटकको रारा आगमन बढेसँगै घोडा व्यवसायीहरुले दैनिक ५ हजारभन्दा बढि आम्दानी गर्ने गरेका छन् । सिजनका बेला घोडाले दैनिक १५ हजारसम्म कमाइ गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् ।

‘तालमा पर्याप्त डुंगा छैनन्, सल्लेदेखि हिँडेरै जान डेढ घण्टा लाग्छ’, घोडा डो¥याउँदै पर्यटकलाई पर्खिरहेका एक बालक भन्दैथिए – ‘आउन्याहरु घोडा चढ्छन्, हामी हजार लिन्छम् ।’ सल्लेदेखि मुर्माटपसम्म घोडामा सयर गर्दा उनीहरुले पाँच हजारसम्म पनि लिने गरेका रहेछन् । ‘सीजनका बेला दिनमै पन्ध्र हजारसम्म कमाउँछ’, एक घोडा व्यवसायी भन्दैथिए ।

पूर्वाधार अभावमा रारा
पछिल्ला केहि वर्षयता सडकको सुविधा पुगेपछि राराक्षेत्रको जनजीवन तुलनात्मक रुपमा फेरिएको छ । तर कर्णालीको यो भुगोलका जनताले विकासको खास अनुभति गर्न सकेका छैनन् । हुन त कर्णालीका नाममा सरकारी तथा गैरसरकारी संस्थाहरुले ‘खेति’ गरिरहेकै छन् । कर्णालीवासीका अभाव र दुख देखाएर कमाउनेहरुको संख्या पनि उत्तिकै छ ।

तर कर्णालीवासीका जीवन आजपनि अभावमै छ । रारा राष्ट्रिय निकुञ्जको अधिनमा रहेको रारा तालका किनारमा सल्लाका रुखहरु बग्रेल्ती ढलिरहेका छन्, ताल किनारमा ‘ड्राईफुड’का प्याकेट र रक्सीका बोतलहरु पनि असरल्ल भेटिन्छन् । केहि घण्टा लगाएर रारा नियाल्दा संरक्षणको अभाव प्रष्ट देख्न सकीन्छ । निश्चयपनि राजा महेन्द्रको ‘स्वर्गकी अप्सरा’ राराले सिंगो कर्णलीको मुहार बदल्ने संभावना बोकेको छ । तर पूर्वाधार अभावमा राराको सम्वद्र्धन र प्रवद्र्धन हुन सकीरहेको छैन ।

राराले सडक सञ्जालमा पहुँच राखेपनि अन्य भौतिक पूर्वाधार विकासको पर्खाईमै देखियो । रारा क्षेत्रमा न त वास वस्ने व्यवस्थित होटलहरु छन्, न त मनोरञ्जनका अन्य कुनै साधनहरु नै छन् । देशकै ठूलो तालमा दुईवटामात्र डुंगा सञ्चालनमा छन् । विद्युतको सहज सुविधा छैन, रारा घुम्न आउने कोही पर्यटक बिरामी परे नजिकमा स्वास्थ्यसंस्था नै छैनन् । सञ्चारको सुविधाबाट राराक्षेत्र बञ्चित नै छ ।

सुर्खेत उँभोको सभ्यता
राराका लागि सुर्खेतबाट उक्लँदै गर्दा बिरेन्द्रनगरमा एकजना ट्राफिक प्रहरी अधिकृतले गाडी रोके । सडकमा सवारीसाधनहरु रोकेर विरेन्द्रनगरमा ट्राफिक प्रहरीले सवारी नियमबारे सचेतना अभियान नै चलाएको रहेछ । ‘साईड लिँदा दायाँ बाल्ने, साइड दिँदा वाँया बाल्ने’, सचेतनामा खटिएका ट्राफिक प्रहरीले सिकाउँदैथिए,–‘ओभरटेक गरिसकेपछि वाँयातर्फको संकेत दिएर मात्र लेनमा आउनुहोला ।’

विरेन्द्रनगरबाट झण्डै २० किलोमीटर सडक छिचोलेपछि हामी बड्डीचौर पुग्यौं । बड्डीचौरको प्रहरी पोष्टमा पनि एकजना ट्राफिक जवानले सवारीचालकहरुलाई रोक्दै, अगाडीको सडक जोखिमपूर्ण रहेको भन्दै सचेत गराइरहेका थिए । विशेषगरि यस रुटमा पहिलोपटक जाने चालकहरुलाई ट्राफिक प्रहरीले सचेत गराउँदो रहेछ ।‘ साँघुरो बाटो, घुम्ती र मोडहरु धेरै छन्, सुरक्षितसाथ जानुहोला शुभयात्रा’, सुर्खेतबाट उँभो लागेपछि प्रहरी पोष्टहरुमा यसैगरि सभ्यता झल्किरह्यो ।